ईपर गुर्खा स्मारकको स्थापना दूतावास आफैले गर्ने

विश्वयुद्वका क्रममा बेल्जियमको ईपरमा शाहदात प्राप्त गरेका गोर्खाली नेपालीको सम्झनामा स्मारक स्थापना कार्य नेपाली दूतावास बेल्जियमले आफैले गर्ने भएको छ|स्मारक स्थापनामा कार्यमा सहयोग गर्न गैरआवासिय नेपालीलाई बेनेलक्सका लागी नेपाली राजदूत राममणि पोखरेलले सहयोग गर्न आब्हान गरेका छन्| उनले आईतवार नेपाली ब्याबसायी संघ बेल्जियमको चौथो अधिबेशनका क्रममा बोल्दै उक्त कुरा बताएका हुन्|
उनले नेपाली समुदायबाट स्मारक बनोस भन्ने ईच्छा राख्दा राख्दै पनि एक अर्का बिचको आपसी बिबादका कारण बिगत सात महिना देखि सहमति जुट्न नसक्दा दूतावास आफैले निर्माण गर्ने अन्तिम निष्कर्षमा पुगेको बताए| उनले भने ”स्मारक दूतावास आफैले स्थापना गर्न सक्थ्यो तर नेपाली समुदायको सहभागिता रहोस भनेर नै नेपाली समुदायको जिम्मा लगाउने मनसाय राखेका थियौ”|
MeninGate Ypresमन्तव्यको क्रममा उनले राष्ट्रको छविलाई प्रवासमा रहेका नेपालीहरुले पनि आपसी सहयोग र सद्वभावका साथ कायम राख्नु पर्नेमा समेत जोड दिए|
उनले सन् २०१४ को नोभेम्बर अगाडी नै स्मारक स्थापना गरिने जानकारी गराए|यहि नोभेम्बर-डिसेम्बर भित्र नै स्मारक बेल्जियम ल्याई पुर्याउने योजना रहेको बताउदै उनले कस्तो किसिमको स्मारक स्थापना गर्ने भन्ने बिषयमा नेपालीहरुलाई राय दिन समेत आब्हान गरे |
बेल्जियमको ईपर नगरपालिकाले स्मारक बनाउन जग्गा प्रदान गरे देखी नै स्मारक कसले निर्माण गर्ने भन्ने बिषयमा नेपाली समुदाय बीच मतभेद बढ्दै गएको थियो| दूतावासको सहमतिबिना स्मारक स्थापनामा कठिनाई हुने संकेत गर्दै दूतावासले सबै नेपालीहरु मिलेर एक स्मारक निर्माण समिति गठन गर्न पटक पटक आब्हान समेत गरेको थियो|यसै बीच तमु समाज स्मारक निर्माण समिति गठन गरेको थियो भने एनआरएनले निर्माण गरेको भनिएको समितिलाई भने सार्वजनिक गरेको थिएन| एनआरएनले नेपालीको साझा संस्था भएकोले एनआरएन कै नेतृत्वमा गर्नु पर्ने अडान राखेको थियो भने तमु समाजले आफ्नो भावनात्मक सम्बन्धको अडान छोडेको थिएन|
स्मारक निर्माणको बिषयलाई लिएर नेपाली समुदायबिच रहेको तँछाडमछाडलाई ढिलै भए पनि दूतावासको निर्णयले शान्त बनाइदिएको छ|
– दीपकज्योति पौडेल