त्यो वर्ष

Dipendra KCपुराना सपनाहरु
स्थगित गरेर सवै
ढल्नुछ यो अन्तिम रात !
क्यालेण्डरले बसाई सार्ने वेला ।

सधै नयाँ भै वगिरहने
हिमाली खोलाको पानीमा
विसर्जित चैत्र मसान्त
चुँडिएका फूलका थुँगासँगै
बगेका हुन वासी सपनाहरु
नफर्कने खोलाहरुझैं ।

आखिर ! फर्किएका थिएनन् ती
त्यसैगरी, त्यो सालभरि ।

साझा कामना गरेका थियौं हामीले
फेरिएको मुहार हेर्ने
कल्पना गरेका थियौं हामीले
हाँसोको साझा दृष्य !
कसरी अपूरा हुँदा रहेछन् आकाँक्षाहरु
एउटा कथा छोडेर गएको छ उसले
जाम भएको एउटा राजमार्ग !
त्यो बर्ष !

अव मधुरो सम्झना
त्यागेका सपनाहरुको
त्यो बर्ष ।

म !
रोक्न सक्दिन
सती गएका समयहरुलाई
सँक्रमणको यो क्षणमा ।।
दीपेन्द्र के.सी.
बागलुङ, हालः लुभेन बेल्जियम ।
अन्तिम मसान्त २०७०