वार्ताद्वारा नै सबै समस्याको समाधान हुन्छ : प्रधानमन्त्री कोईराला

नेपाली काग्रेसका सभापति एंव नेपालका प्रधानमन्त्री सुशील कोइरालाले वार्ताद्वारा नै संविधान निर्माणलगायत मुलुककाSushil-Koirala सामु रहेका सबै राजनीतिक समस्याको समाधान हुने बताउनुभएको छ ।

प्रधानमन्त्री कोइरालाले सो कुरा आज बिहान नेपालगन्जको अन्तराल समूहद्वारा आयोजित बिपीको ऐतिहासिक फोटो प्रदर्शनी यात्राको प्रधानमन्त्री निवास बालुवाटारमा शुभारम्भ गर्दै बताउनुभएको हो ।

‘वार्तामा बसौँ, छलफल गरौँ,’ प्रधानमन्त्री कोइरालाले संविधान निर्माणबारे अत्यन्त विश्वासका साथ भन्नुभयो, “छलफलद्वारा नै समस्याको निदान र समाधान निस्कन्छ ।”

सो अवसरमा प्रधानमन्त्री कोइरालाले राजनीतिक दलहरुका बीचमा वार्ता भइरहेको पनि बताउनुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “हामी मुलुकमा संविधान दिने तयारीमा छौँ । संविधान निर्माणसँगै हामी मुुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक विकासमा लागेका छौँ ।”

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जननायक बिपी कोइरालाले प्रतिपादित गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीति सर्वकालीक रहेको पनि उल्लेख गर्नुभयो । उहाँले जननायक बिपीको सङ्घर्षमय जीवन नेपाली काँग्रेसका कार्यकर्तासहित समस्त राजनीतिकर्मीका लागि पनि प्रेरणादायी रहेको बताउनुभयो ।

उहाँले भारतीय स्वतन्त्रता सङ्ग्राममा भाग लिएर भारतमा समेत जेलनेल भोग्नुभएका जननायक बिपी कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना र विकासको नेतृत्व गर्दा जेलनेल र प्रवासको सजाय भोग्नुपरेको घटना पनि स्मरण गर्नुभएको थियो ।

प्रधानमन्त्री कोइरालाले नेपाली काँग्रेसले उहाँको दूरदर्शी नीति र कार्यक्रमलाई नै अबलम्वन गर्दै आएको पनि बताउनुभयो । “हामी सफल भएका छौँ । प्रजातन्त्रका मूल्यमान्यता र आदर्शका लागि बलिदान दिएका छाँै”, कोइरालाले भन्नुभयो, “नेपाली काँग्रेसका नेता कार्यकर्ताले सहादत दिएका छन् । त्यसैले हाम्रो टाउको कहिल्यै निहुरिएको छैन ।”

प्रधानमन्त्रीले जननायक बिपी कोइरालाको सरकारले १८ महिनाको छोटो कार्यावधिमा गरेको क्रान्तिकारी कामको अहिले सबैले सराहना गरेको पनि बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले देशव्यापी घुम्ती फोटो प्रदर्शनीका प्रतिनिधिमूलक फोटो नेपाल प्रेस युनियन बाँकेका जयनारायण साहलाई हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नेपाल फोटो पत्रकार सङ्घका क्षितिजअरुण श्रेष्ठले जननायक बिपीका जीवनका बाल्यकाल, राजनीतिक यात्रा, सहित्य सिर्जनाकाल, खेलकुद, बिरामी अवस्थाका फोटो प्रदर्शनीमा राखिने जानकारी दिनुभएको थियो ।

सो अवसरमा प्रेस युनियन बाँकेका साहले हरेक जिल्लामा प्रदर्शन कक्षको सुविधा भए १०१ देखि १५१ वटा फोटो प्रदर्शन गरिने जानकारी दिनुभयो । कञ्चनपुरको चाँदनी र दोधारा गाविसबाट प्रदर्शन सुरु गरिने सो घुम्ती फोटो प्रदर्शनी दुई वर्षमा देशका ७५ जिल्लामा सम्पन्न हुने आयोजकको अनुमान छ । रासस