फ्रान्समा पनि नेपाली भाषा कक्षा

प्रवासमा रहेका नेपाली अभिभावकहरूमा आफ्नो भाषा र संस्कृति कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो। संसारका शक्तिशाली र विकसित देशहरूमा समेत अल्पसंख्यक नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा यी देशहरूमा नेपाली पाठशालाको स्थापना भई नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू भएका छन्।

यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् फ्रान्सले विदेशमा नै जन्मे हुर्केका एनआरएन दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा स्कुल सञ्चालन गर्ने भएको छ ।

अहिले प्रारम्भिक रुपमा २० देखि २५ जनासम्म बालबालिकालाई नेपाली भाषा पठनपाठन पढाउन सकिने गरी अध्यक्ष एक बहादुर मल्लको अग्रसरतामा कक्षा कोठा तयार गरिएको छ र यस कार्यलाई भविष्यमा अझै प्रभावकारी गर्दै धेरै बालबालिकालाई पढाउने उद्देश्य राखिएको छ ।
विदेशमा रहेका दोस्रो, तेस्रो पुस्ताले पनि नेपाली भाषा र संस्कृतिलाई जोगाएर राख्न संघले सबै नेपालीको धन र गौरवको लागि नेपाली भाषा स्कुल सुरु गरेको जनाएको छ ।

पछिल्ला वर्षहरूमा युरोपका विभिन्न मुलुकहरूमा नानीहरूका लागि नेपाली कक्षाहरू खुल्दै गरेका छन् र लोकप्रिय पनि रहेका छन् । यसअघिदेखि नै बेलायत, बेल्जियम, स्पेन, डेनमार्क, जर्मनी, अमेरिका, अस्ट्रेलिया, क्यानडा आदि देशहरूमा नानीहरूका लागि नेपाली पाठशाला संचालित छन्।