एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।
अध्यक्ष दाहाललाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ अनुरुप एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्न मागसहित अधिवक्ता दिनेश त्रिपाठीले सोमवार अवहेलना मुद्दा दायर गरेका हुन्।
दाहालले गत शनिवार एक अभिव्यक्तिमार्फत् द्वन्द्वकालीन मुद्दामा अदालतले गरेका निर्णयको अवज्ञा गरिएको दाबी त्रिपाठीको छ । ‘अदालतले दिउँंसै रात पार्न खोजेको,’ ‘आफुहरुले अदालतका आदेश नमान्ने,’ तथा ‘के हो अदालत ? ’ भन्ने प्रश्न गर्दै द्वन्द्वकालिन मुद्दाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगले गनुपर्ने भनाई राखेको प्रश्न पनि निवेदनमा उठाइएको छ ।
यसैगरी, अदालतको वर्तमान रवैया शान्तिप्रक्रिया र संविधानको कार्यान्वयन विपरित रहेको भन्दै मन्तव्य दिएको दाबी पनि गरिएको छ । त्रिपाठीले दाहाललाई अदालतमा लिखित जवाफसहित उपस्थित गराएर बयान लिनसमेत माग गरेका छन् ।