घरमा भुराभुरीलाई बालमतलब छैन । उनीहरू उसरी नै उफ्रेका छन् ।
‘ए, नउफ्रन ।’ म भन्छु- ‘समाचार हेर्नुपर्यो ।’
टि.भी. खुल्ने बित्तिकै हत्त न पत्त रिमोट-कन्ट्रोल खोसेर छोरोले कार्टुन नेटवर्क लगायो ।
‘टि.भी.मा कोरोना किरी छ’; चार वर्षकी छोरीलाई समेत थाहा छ, संसार कसको कब्जामा छ ?
दुई हप्ताअघि जब अनायस स्कुल छुट्टी भन्ने उद्घोष भयो, मेरो दिमागमा परिसकेको थियो । अब यी केटाकेटीलाई कसरी ब्यस्त राख्ने ?
बच्चाको मनोरंजनका निम्ति अनेक आइडिया खोतल्दै घोत्लिएँ म । घरमा बसेर मनोरंजन !
खैर, अहिले म यहाँ तपाईंको बच्चालाई घरभित्रै कसरी ब्यस्त राख्ने र मज्जा दिने ? भन्ने जादुई उपायहरू पस्कनतिर लाग्दिन । खासमा मलाई त्यसबारे लेख्ने मूड छैन, यतिखेर ।
यता लक-डाउन छ, उतापट्टी पनि लक-डाउन । यस्तो पनि हुन्छ र ? जस्तो लागेको थियो शुरूका दिनमा । भयो । अर्कै कुरा छ मूडमा यतिखेर । विश्रृंखलित मनमा खेलेका शब्दहरूलाई श्रृंखलाबद्ध राख्ने प्रयास गर्दैछु यहाँ-
दूर दूर देशमा बस्ने समस्त स्वजन,
यो मेरो हितैषी संझना र अभिवादन
जहाज भुईँमा ओर्लिएका छन्, बन्द छ अध्यागमन
आ-आफ्नै कुटीमा सुरक्षित बसौं, नमस्ते-नमन ।
***
मलाई लागेको थियो- अब यो छुट्टीमा ब्लगहरू लेख्नुपर्छ । पछिल्लो समय मलाई अराजनीतिक विषयहरूमा लेख्ने मन हरर्र बढेको छ । यस्ता कुराहरू जो सायद थोरैले पढलान् तर मन लगाएर पढुन् । अथवा, म यसरी लेखुँ, आत्मसन्तुष्टि मिलोस् । यसरी नाचुँ, कसैले नदेखोस् । यसरी हाँसु, शर्म के हो पनि थाहा नहोस् । मलाई लेख्न मन छ- जीवन-शैली र जीवन-दर्शनका बीचमा आउने सबैखाले जीवनका कर्मबारे । राजनीति त अति सस्तो भयो । यौनभन्दा पनि सस्तो ।
बग्रेल्ती लेख्ने रहर हुँदाहुँदै पनि लेख्न सकेको छुइन । एकाग्रता छैन ।
मलाई त्यो जोडीको याद आइरहेछ, जो मसँग मार्च १३ गते शुक्रबार अन्तिम चोटी भेट भएको थियो । त्यसपछि म काममा जानु परेन । न्युजिल्याडका ति जोडीले ट्रान्जिटको देशमा उत्रने अनुमति नपाएपछि बेल्जियम मै दिन लम्ब्याएका थिए । अहिले परिस्थिति झन् जटील भएको छ । यति जटील की म आफ्नै देश जान सक्दिन । पाउँदिन । र त्यो कति लामो समयलाई हो, ठेगान छैन ।
म्यासेन्जर र भाइबरको सुविधा र सान्त्वनामा चित्त बुझाउने प्रयास गर्दैछु म । यो हाम्रो नियति बनेको छ । बालकृष्ण समले ठ्याक्कै यही भाषामा नभने पनि, यस्तै भाकामा भनेका थिए- नियमित आकस्मिकता । हामी यही नियमित आकस्मिकताको नयाँ परिच्छेदमा वर्णित हुनुपरेको छ ।
मानवीय गुण हो- लचकता । परिस्थिति अनुसार लचक हुन जान्नु, सक्नु मान्छेको क्षमता हो । यहाँ धनुष्टंकार गर्नेहरूको चर्चा होइन, असफलता र संकटमा लचिलो हुने सीपको विकासको सन्दर्भ हो । ‘सके हस्तिनापुरको राज, नसके चपरीमुनिको बास’ वास्तवमा यो महाभारतीय कथन हाम्रो मानवीय मनोविज्ञान कै प्रतिरूप हो । यही लचकतालाई आत्मसात गरेर हामी अनेक चुनौतिलाई दाउमा राखेर यात्रा गरेरहेका हुन्छौं । फलतः असजिलो समयको सामना गर्न सक्छौं । यो असजिलो समय गुज्रेपछि नियमित आकस्मिकताको अर्को अनुच्छेद आउँछ । अनि हामी हाम्रो लयमा फर्कनेछौं ।