जन्मरात र पुनर्मूल्याङ्कन

(कविता ) जन्मरात र पुनर्मूल्याङ्कनDipendra KC

जोडिन नसकेका
सपनाका कडीहरु !
जो, म सँगै जन्मिएका थिए
र, देख्नुभएको थियो त्यहाँ हजुरले
भयानक पीडापछि
हाँसेको एउटा सँसार ।

रातहरु हराइरहे रातहरुमै
दिनहरु हराइरहे दिनहरुमै
नखोजी आफूलाई कहिल्यै
हेरिरहनु भयो मेरो उज्यालोलाइ,
एकमुष्ठ अँध्यारो आफैले ओढेर
ध्रुवतारा उदाउँदा
वा दिन वोकेर आउने सूर्य आँगनमा झर्दा
त्यो हजारेको थुँगामा
मेरो मुहारसँगै
स्नेहको चुम्बनले अँगाल्दा
उर्लिएको स्नेहको सागरमा
कहाँ पुगें म ?

हजुरको अन्दाजको दुनियाँ
बस्न सकेन तपाईले सोचेजस्तै
किनकी
तपाईको रचनाको महलमा
आँगन छ, म छैन
छानो छ, चुहिरहन्छन आँशुहरु
र, झिलीमिली छ
तरपनि अँध्यारै छन हिमाँशुहरु ।।

आमा ! तपाईको काख !
प्रस्थान विन्दु रहेछ जीवन गोरेटोको
कुद्नु थियो कुदिरहेछु
जव गलित गलित थकित थकित
म सुस्ताउँछु
हजुरका हजारौं हजार यादहरुको छहारीमा
तर
मेरो बाटो हेरेर थकित
तपाई……………………….?

३ दिन भयो
झिमिक्कै नगरी
पुनःर्मूल्याङ्कन गर्दैछु
म जन्मेको रातको
जन्मसँगै आउने
हजार हजार सपनाका कडीहरुको ।।

— दीपेन्द्र के.सी.बागलुङ, हालः लुभेन बेल्जियम