गैर आवासीय नेपाली संघ बेलायतको दुबै समानान्तर कार्य समितिहरू कायम रहने भएका छन् । समानान्तर रूपमा दुइ कार्य समिति गठन भएपछि प्राध्यापक सूर्य सुवेदीको पहलमा एक सहमति बनेको थियो । सो सहमति अनुरुप वर्तमान अध्यक्ष योगेन क्षेत्री एक बर्षका लागि अध्यक्ष र महेन्द्र कंडेल अर्को वर्षका लागि अध्यक्ष बन्ने समझदारी थियो । तर सो सहमतिलाइ उल्टाउँदै अहिले दुबै समितिका पदाधिकारीहरूलाइ निरन्तरता दिने निर्णय गरिएको छ । एन.आर.एन.को एउटै शाखामा दुई अध्यक्ष रहको अचम्मलाग्दो अवस्था संसारभरि मै युके शाखा मात्र हो ।
एन.आर.एन. यु.के. कार्यसमितिको तेस्रो बैठक जनवरी १८ मा लण्डनको ह्यारोमा सम्पन्न भएको छ । सो बैठकले एनआरएन युकेको दुई बर्ष नै दुवै जना अध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष्य, प्रवक्ता लगायत सबै समानान्तर पदहरुलाई दुबै बर्ष एक अर्काको अस्तित्व स्वीकार गर्दै निरन्तरता दिने निर्णय भएको छ ।
बैठकमा अध्यक्ष्य योगेन क्षेत्रीले आफ्नो हालैको नेपाल भ्रमणबारे विस्तृत जानकारी गराएका थिए ।
बैठकमा नेपाली नागरिकताको निरन्तरताबारे नेकपा एमालेका नेता भीम रावलद्वारा अभिव्यक्त गरिएको भनि संचार माध्यममा आएका समाचारहरुबारे सबैको ध्यानाकर्षण भएको थियो । भीम रावलले एनआरएनहरुलाई नेपाली नागरिकताको निरन्तरता दिनेबारे दिनुभएको अभिव्यक्ति संचार माध्यममा बंग्याईएको धारणा उपाध्यक्ष कृष्ण तिमिल्सिनाले राखेका थिए । बैठकले एकजना नेताको भनाइतर्फ मात्र ध्यान दिनुभन्दा पनि नेपाली नागरिकताको निरन्तरताको लागि यस कार्यमा लागेका अग्रजहरुसंग परामर्श गर्दै यस आन्दोलनलाई एनआरएन युकेले सशक्त रुपमा अघि बढाउने निर्णय गरेको छ । नागरिकताको निरन्तरताको आन्दोलनबारे नेपाली जनताहरुलाई धेरै जानकारी नभएको कारण एनआरएनहरुले काठमाण्डौंमा नैं आफ्नो उपस्थितिलाई सशक्त बनाउनुपर्ने धारणा अर्का अध्यक्ष महेन्द्र कंडेलले राखेका थिए ।
नेपालमा एनआरएन भवनलाई सहयोग गर्नका लागि संयोजक तोकी रकम संकलन गर्ने निर्णय पनि गरिएको छ । यसैगरी एक एनसिसि एक प्रोजेक्ट अन्तर्गत एनआरएन युकेले म्याग्दीको गलेश्वर स्थित वृद्धाश्रमका लागि कम्तीमा पनि ५० हजार पाउण्डको च्यारिटी रकम उपलब्ध गराउने निर्णय बैठकमा गरिएको छ ।
बैठकको संचालन महासचिव आर के त्रिपाठीले गरेका थिए । बैठकमा अध्यक्ष्यद्वय योगेन क्षेत्री र महेन्द्र कंडेल, उपाध्यक्ष्यहरु कृष्ण तिमिल्सिना, क्या बालकृष्ण गुरुंग, हिराधन राई, सुर्य नेम्बांग, शान्ति थापा, महासचिवहरु योगकुमार फगामी र आर के त्रिपाठी, सचिव संगीता मरहट्टा, कोषाध्यक्ष्यहरु डासु पाण्डे र ठाकुर शर्मा, सदस्यहरु अर्जुन कटुवाल, ललित न्यौपाने, बिष्णु वाग्ले, मिन बहादुर रानाभाट, धर्म तामांग, बबिता लामा, गोपाल गुरुंग, राम गलामी र जय प्रकाश गुरुंग तथा आइसिसि सदस्य सुष्मा राइको उपस्थिति रहेको थियो ।
अपडेटः
एनआरएन युके (कंडेल समूह) ले कुरा फेर्दा एकता खलबलियो- एनआरएन युके अध्यक्ष क्षेत्री
गैरआवासीय नेपाली संघ (एनआरएन) युकेका अध्यक्ष योगेन बहादुर क्षेत्रीले असन्टुष्ट पक्षलाई बैठकमा एउटा कुरा गर्ने र बाहिर गएर अर्कै कुरा गर्नाले एनआरएन युकेको हाल सम्म भएको सहमतिमा आंच आएको बताएका छन । उनले गैरआवासीय नेपाली संघ युकेका सम्बन्ध हालै प्रकाशित समाचारलाई खण्डन गर्दे उक्त कुरा बताएका हुन । उनले उम्मेदवारी शुल्क लगाएतका बिषयमा सहमतिमै गरिएको उल्लेख गर्दै असन्तुष्ट पक्षलाई १६ फेब्रुअरी माCarnival Hall, Council Road Basingstoke, RG21 3DH मा छलफलका लागि बोलाएका छन ।