कस्तो विहानी खोजीरहेछौं ?

dipendra KCबुद्धको आँगनबाट
शान्ति सिक्ने वेला
के सिकिरहेछ ? नयाँ पुस्ता !!
गुम्बाबाट सहनाई बजाएर
युद्धको घोषणा गर्दै
स्वागत गर्दछ भोलिलाई
लाग्छ ! शान्तिका पाठहरु
छापिदैनन् अव छापाखानाहरुमा
अन्धो भएको राजनीति
लाशहरु गनेर
मुचुल्का उठाउन तयार छ परिवर्तनको !!

खरानी पारेर मानवीय इतिहास
धुजा पारेर माटोको स्वाभिमान
कस्तो विहानी खोजिरहेछौं ? हामी
जहाँ
बारुदखानाका प्रशिक्षार्थीलाई
निलो झण्डा थमाउँछौं
पोटासियम साइनाइटका किसानलाई
कोदालो थमाउँछौं
एके — ४७ का भट्टीहरुलाई
लालसलाम ठोक्छौं
अनि फेरि
बुद्धलाई भारतले वेचिदियो भनी
चित्त दुखाउँछौं ।।

हारेर आफैसँग
कस्तो विहानी खोजीरहेछौं ?
आखिर, हाम्रो हराएकै के छ र ?
२१ औं शताव्दीको
परिवर्तनकारी उन्नत चेतना बाहेक !!
— दीपेन्द्र के.सी.
बागलुङ; हालः लुभेन बेल्जियम