६३ करोडको लागतमा विज्ञान संग्रहालय

गठन भएको २२ वर्षपछि बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको आफ्नै भवन बनेको छ। त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा निर्मित अत्याधुनिक भवनको असोज पहिलो साता उद्घाटन हुँदै छ।
संग्रहालय परिसर करिब १ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ। आउँदो असोज १ गते दोस्रो राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर विज्ञान प्रविधिमन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले संग्रहालयको उद्घाटन गर्दै हुनुहुन्छ।
३ तले अध्याधुनिक भवन तयार भए पनि संग्रहालयका लागि आवश्यक पर्ने उपकरण भने तत्काल जडान नहुने भएको छ। यथोचित उपकरण विना दिवसको अवसरमा संग्रहालयको उद्घाटन गर्ने निधो भएको हो। बजेट अभावमा तत्काल सामग्री खरिद गर्न नसकिएको समितिका निर्देशक डा. शोभाकान्त लामिछानेले बताउनुभयो। ‘भवन तयार भए पनि संग्रहालयका लागि आवश्यक पर्ने सामग्री नभएको साँचो हो’, उहाँले भन्नुभयो– ‘अर्थ मन्त्रालयबाट बजेट निकासा भएपछि क्रमशः थप्दै जानेछौं।’
बीपी प्लानेटेरियम तथा समिति हाल विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय मातहत छ। २०४९ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारको गठन आदेशपश्चात स्थापना भएको समिति सधैं ओझेलमा परेको मन्त्रालयका पदाधिकारीहरूको तर्क छ। यही आधारले पनि सरकारसहित अन्य सरोकारवालाको ध्यानाकर्षण गराउन संग्रहालय हतारमा उद्घाटन गर्न लागिएको स्रोतले बताएको छ।
संग्रहालय परिसरमा कृत्रिम ब्र्रमाण्ड नियाल्ने रंग मञ्चको छुट्टै भवनको निर्माण शुरू यही आर्थिक वर्षमा मात्र हुने बताइएको छ। समितिले त्रिविसँग नमुना विज्ञान पार्क बनाउन प्रस्ताव गरेबमोजिम त्यस क्षेत्रमा संग्रहालय बन्ने प्रक्रिया अघि बढेको थियो।
करिब साढे ६३ करोड रुपियाँको लागतमा तयार भएको मुख्य भवन उद्घाटन गर्ने निधो भइसके पनि संग्रहालयको उचित नाम अझै जुराइएको छैन। तत्कालका लागि ‘राष्ट्रिय विज्ञान संग्रहालय’ नाम प्रस्ताव गरिएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका प्रवक्ता रामआधार शाहले बताउनुभयो।