५० ठाउँमा RIP लेख्नेसँग

नेताहरूले मृत्युवरण गर्नुपर्यो । स्वभावतः सामाजिक संजालहरूमा यो चर्चाको विषय भयो । अझ पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य शिथिल भएको खबर आउँदै गर्दा कतिपय अनलाइन समाचार पोर्टल र व्यक्तिहरूले मरणपूर्व नै मृत्यु घोषणा गर्न भ्याए । डाक्टरहरूले ‘मुस्किल छ’ भनेकोलाई छिटो न्युज ब्रेक गर्ने धुनमा मृत्यु नै भयो भनेर ठोके । काग झैं बढी बाठो भएर ‘भावपूर्ण’ श्रद्धाञ्जली समेत लेखे ।

तर मलाई अहिले लेख्न मन लागेको कुरा ति मूर्खहरूको बारेमा होइन । बुझेर वा नबुझेर छोटोमा RIP लेख्नेहरूको बारेमा हो ।

हामीले केटाकेटीमा पढ्ने सामान्य ज्ञानका नेपाली किताबमा लेखिएको हुन्थ्यो- ‘Light of the World’ भनेर जिसस क्राइस्टलाई बुझिन्छ भने ‘Light of the Asia’ भनेर गौतम बुद्धलाई बुझिन्छ ।

बुद्ध जन्मेको देशमा बसेर हामी यस्तो पढ्थ्यौं र मख्ख पर्थ्यौं, (पश्चिमाहरूले नै होला !) हाम्रा मान्छेलाई ठुलो बनाइदिए भनेर पुलकित पनि बन्थ्यौं । तर हाम्रो दिमागमा यो आउँदैनथ्यो कि क्राइस्ट कसरी संसारभरिका ‘लाइट’ बने र बुद्ध केवल ‘एशिया’ को मात्र !

यो त हाम्रो हिन ग्रन्थीको रसायन मात्र रहेछ भनेर बुझ्न धेरै बसन्तहरू पार गर्नुपर्यो मलाई । यस्तो अनेक विषाद रसायन हामीले दिने शिक्षा र समाजमा थुप्रै भेटिन्छ ।

फेसबुक र अनि अरू संजालहरूमा नियमित रूपमा जन्मदिनको शुभकामना, वैवाहिक वर्षगाँठ, बधाई र चिप्लो शुभेच्छा दिनेहरूको एक खालको यस्तो जमात भेटिन्छ उनीहरूको फुर्सद र जाँगरको सराहना नगरी म रहन सक्दिन ।

आखिर सराहना नगर्नु पनि किन ?

यहाँ फन्टुस र वाहियातमा समय बिताउनेहरूको भिड छ । र, त्यो भिडमा कसैले शुभेच्छा व्यक्त गरेर एक सेकेण्डको लागि भए पनि ‘दिलखुश’ बनाइदिन्छ भने त्यसको बर्खेला गर्नु बेकार हो । हामी सबै प्रशंसाका लोभी छाैं; विचारशील कमेन्टका भोका छाैं । खुशीमा ताली र तारिफ गर्नु र दुःखमा शोक र सन्तापमा सान्त्वना दिनु मानविय गुण नै हो ।

तर मान्छेका आ-आफ्ना सँस्कार र पद्धति छन् । जुन ठाउँ र ठहरअनुसार चल्छ ।

हिजो एक जना मित्र सामाजिक संजालमा भेटिए । तिनले आदरणिय नेताको मृत्युमा ५० ठाउँमा RIP लेखेका होलान् । उनलाई मैले अनुनय विनय भनेँ- यो ५० ठाउँमा RIP लेखेर भएन, बरू एक ठाउँमा राम्ररी भाव व्यक्त गर्नुपर्यो ।

उनले भने- ‘बाइरोडको बाटो जाने कि मुङलिङको बाटो जाने भन्ने कुरा हो । त्यही कुरा छोटोमा लेख्न सकिन्छ भने किन लम्बेतान लेख्नु ?’

कुरा त ठिकै हो ।

मैले उनलाई भनेँ- तर अर्थ एउटै होइन नि ।

उनी त्यसपछि बिलाए तर मेरो मनमा खुल्दुली लाग्यो । त्यही खुल्दुली कन्याउन मलाई यो एक टुक्रा विचार लेख्न मन लाग्यो ।

अब चर्चा गरूँ RIP कै ।

RIP अर्थात Rest In Peace क्रिश्चियनहरूको चलन हो । उनीहरूबाटै आएको हो । यसर्थ कि उनीहरू लाशलाई गाड्छन् र उसको आत्माको शान्तिको कामना गर्छन् । अरू धर्मावलम्बीहरू, जसले त्यस्तै विधि गर्छन् र त्यस्तै फिलोसफीलाई मान्छन्, उनीहरूलाई सुहाउने कुरा होला । तर नेपाली परिप्रेक्ष्यमा यो मेल खाँदैन ।

लाश गाड्नेले भन्ने र जलाउनेले भन्ने एउटै अभिँव्यक्ति हुँदैन । अनि फेरि आत्माको मुक्ति खोज्ने सनातन धर्मको कुरा छ । त्यसैले RIP भन्दा मर्यादित भएन भन्ने कुरा हो । मर्यादित शब्दहरूले श्रद्धाञ्जली दिउँ भन्ने कुरा हो ।

‘त्यसो भए के भन्ने त ?’ तपाईं सोध्नुहोला ।

यसरी नै भन्नुपर्छ भन्ने कठोर नियम छैन । तर शिष्ट र मर्यादित होस् भन्ने कुरा हो ।

उदाहरणको रूपमा भन्न सकिन्छ- ‘दिवङ्गत आत्माको चिरशान्तिको कामना’ वा ‘भावपूर्ण श्रद्धाञ्जली’ ।

मृत्यु त श्वाश्वत छ । हामी मर्ने पूर्वशर्तमा बाँचेका हुन्छाैं । जान्दाजान्दै पनि हामीलाई मृत्यु असहज लाग्छ । मृतकले मुक्ति पाउँछ र हामी बाँच्नेहरू दुःख बाँड्छौं ।

अब म यहाँ भनुँ, एक टुक्रे लेखको अवसान हुँदैछ । अवसान अर्थात् च्याप्टर क्लोज ।