१ करोडको लागतमा एनआरएन सँघले बनायो बृद्धाश्रम

गैरआवासीय नेपाली (NRN) संघ  यूकेको सक्रियतामा विभिन्न संस्थाहरूको सहयोग लिएर म्याग्दीको धार्मिकस्थल गलेश्वरमा निर्माणधीन वृद्धाश्रम करिब एक करोड रुपैयाँ लागतमा तयार भएको छ । सो आश्रममा १६ वटा कोठा छन् भने ५० जनाको क्षमता रहेको छ । त्यस्तै, कार्यक्रम हलसहित आधुनिक ट्वाइलेट, बाथरुमलगायत खानेपानीको व्यवस्था गरिएको छ । भवन निर्माणका लागि स्थानीय तहमा पनि महत्वपूर्ण सहयोग मिलेको थियो ।

galeshwar aashramआगामी अप्रिल ६ तारिखका दिन राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एक जनाले भवनको उद्घाटन गर्ने तयारी भइरहेको बताइएको छ।

आश्रममा जाने बाटोमा पर्ने स्वागतद्वार निर्माण भने गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले तथा उनीकी श्रीमति जमुना घलेले गरिदिने भएका छन् । करिब १० लाख रुपैंयाँको छुट्टै लागत लाग्ने सो द्वारको काम सुरु भैसकेको छ । भवन उद्घाटन कार्यक्रम एनआरएन अध्यक्ष शेष घलेलगायत विभिन्न देशका गैरआवासीय नेपालीको विशेष उपस्थिति रहने अपेक्षा गरिएको छ । आश्रमको रेखदेखको जिम्मा भने गलेश्वर विकास कोषलाई दिइने तयारी भइरहेको जानकारी क्षेत्रीले दिए ।

सो आश्रमको निमार्णका लागि गैरआवासीय नेपाली संघ यूकेको २६ लाख रुपैयाँ, एनआरएन यूकेका साधारण सदस्यहरुबाट उठेको ३२ लाख, म्याग्देली समाज जापान १५ लाख, एनआरएन आइसीसी सदस्य कुल आचार्य ५ लाख, कृष्ण तिमल्सिना ५ लाख, मोना यूके ५ लाख र राखु समाज यूकेले ५ लाख सहयोग गरेका छन् । ५ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने दाताको नाममा आश्रमको कोठाको नाम राखिने भएको छ भने १५ हजारभन्दा बढी सहयोग गर्नेको नाम शिलालेखमा राखिने भएको एनआरएन यूकेले जनाएको छ । सो भवनको शिल्यान्यास गत बर्ष मार्च महिनामा एनआरएनए अध्यक्ष घलेले गरेका थिए ।