‘हाई ब्लडप्रेसर र कोलस्ट्रोल’ बढ्दो

रोगको जोखिम पत्ता लगाउन देशव्यापी रूपमा गरिएको एक सरकारी अध्ययनले नेपालीमा उच्च रक्तचाप (हाई–ब्लडप्रेसर) र रगतमा चिल्लोको मात्रा बढी हुने (हाई–कोलस्ट्रोल) समस्या धेरै पाइएको छ। हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल, क्यान्सर, प्यारालाइसिसजस्ता रोगका मुख्य कारण ब्लडप्रेसर र कोलस्ट्रोल नै हुन्। यी रोग सहरबासी र धनीलाई मात्र लाग्छ भनिँदै आएकोमा विपन्न र ग्रामीण क्षेत्रसमेत उच्च जोखिममा रहेको पाइएको समाचार दीपक दाहालको बाइलाईनमा आजको नागरिक दैनिकले छापेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले तयार पारेको ‘रिस्क फ्याक्टर सर्भे २०१३’ को प्रारम्भिक नतिजाअनुसार २५ प्रतिशतभन्दा बढीमा हाई ब्लडप्रेसर देखिएको छ । १५ देखि ६९ वर्षका औसत २५.७ प्रतिशतमा यो समस्या छ । ३१ प्रतिशत पुरुष र २०.६ प्रतिशत महिला यसबाट ग्रस्त छन् । माथिल्लो रक्तचाप १४० र तल्लो ९० भन्दा बढी हुनुलाई हाई ब्लडप्रेसर भनिन्छ । रोग देखिएका ८८.३ प्रतिशतले त रोकथामको औषधीसमेत नखाएको अध्ययनले देखाएको छ । चिकित्सकहरूले यसलाई झन् बढी जोखिमपूर्ण बताएका छन् ।

‘उच्च रक्तचाप भएकाले औषधी नखाँदा अझ ठुल्ठूला प्राणघातक रोग लाग्न सक्छ,’ वरिष्ठ मुटुरोग विशेषज्ञ मानबहादुर केसीले भने, ‘यस्ता बिरामी कुनै पनि बेला हृदयाघात, मस्तिष्कघात, प्यारालाइसिसजस्ता रोगको शिकार हुन सक्छन् ।’ परिषदले देशमा नसर्ने खालका गम्भीर रोगको जोखिम पत्ता लगाउन गत वर्षदेखि वैज्ञानिक सर्वेक्षण सुरु गरेको हो । सन् २०१२ जुलाईदेखि २०१३ जुनसम्म ५० जिल्लामा सर्वेक्षण गरिएको थियो । विभिन्न उमेर समूहका ४ हजार १ सय ४३ जनाको रक्त परीक्षण तथा अन्य शारीरिक जाँच गरिएको थियो ।

high-cholesterolसर्वेक्षणले कोलस्ट्रोललाई दोस्रो ठूलो जोखिम भनेको छ । औसत २२.७ प्रतिशतमा यो समस्या छ । सर्वेक्षणले २४ प्रतिशत पुरुष र २१ प्रतिशत महिलामा कोलस्ट्रोल बढी देखाएको छ । रगतमा चिल्लो पदार्थको मात्रा प्रतिडेसिलिटर १ सय ९० मिलिग्रामभन्दा बढी भए हाई कोलस्ट्रोल मानिन्छ । यो पनि हृदयाघात, मस्तिष्कघात र मिर्गौला फेल गराउने मुख्य कारणमध्ये एक हो ।

‘उमेर ढल्केपछि र सहरमा बस्नेलाई मात्र यस्ता रोग लाग्छ भन्ने मान्यता गलत साबित भएका छन्,’ स्वास्थ्य मन्त्रालय अन्तर्गत नसर्ने रोगसम्बन्धी रणनीति तयार पार्ने प्राविधिक समितिका संयोजक डा. लक्ष्मणप्रसाद टिबडेवालाले भने, ‘गाउँगाउँसम्म जोखिम फैलिसक्यो ।’ अनुसन्धानमा संलग्न परिषदका वरिष्ठ अनुसन्धान अधिकृत डा. कृष्णकुमार कोइरालाका अनुसार एकै जनामा तीनभन्दा बढी जोखिम पनि भेटिएको छ । त्यस्ताको अनुपात १५.१ प्रतिशत रहेको उनले जानकारी दिए । ‘एउटा जोखिमले अर्को थप्छ र समस्या झन्झन् बढ्दै जान्छ,’ उनले भने ।

सरुवा रोगभन्दा निको हुन गाह्रो र उपचार महँगो भएकाले यस्तो जोखिम बढ्दा राष्ट्रिय उत्पादकत्वमा प्रत्यक्ष असर पर्ने विज्ञहरू बताउँछन् । ‘ब्लडप्रेसर र कोलस्ट्रोलजस्ता नसर्ने खालका रोगले झन् बढी समस्या ल्याउँछ,’ डा. टिबडेवालाले भने, ‘रोगको असर लामो समय रहन्छ, उपचार महँगो हुन्छ, गरिबहरूमा यस्तो समस्या देखिनु झन् ठूलो चुनौती हो ।’

सहरदेखि गाउँसम्म जोखिम फैलिनुको कारण के त ?
‘मोटोपन, अस्वस्थकर खानपान, धुमपान, मदिरापान र मानसिक तनाव यसका मुख्य कारण हुन्,’ वरिष्ठ मुटुरोग विशेषज्ञ केसीले भने । सर्वेक्षणअनुसार झन्डै ९९ प्रतिशतले शरीरलाई चाहिनेजति फलफूल र तरकारी खाँदैनन् । स्वस्थ जीवनयापनका लागि दैनिक ४ सय ग्राम फलफूल र तरकारी खानुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

सहरी क्षेत्रमा झन्डै २२ प्रतिशतमा मोटोपनको समस्या छ भने अति मोटोपन ४ प्रतिशतमा छ । सर्वेक्षण गरिएकामध्ये ३.६ प्रतिशतको रगतमा चिनीको मात्रा बढी भेटिएको छ । रगतमा प्रतिडेसिलिटर १ सय २६ मिलिग्रामभन्दा बढी चिनी भए मधुमेह मानिन्छ । त्यस्तै, १७ प्रतिशत महिला र १४ प्रतिशत पुरुषले पर्याप्त शारीरिक व्यायाम गर्दैनन् । मदिरा सेवन गर्नेको अनुपात पनि २७ प्रतिशत छ । औसत महिनामा एकचोटि मदिरा पिउनेहरू १७ प्रतिशत छन् । मदिरासेवनमा २८ प्रतिशत पुरुष र ७ प्रतिशत महिला छन् ।
ब्लडप्रेसर र क्यान्सरको मुख्य कारण मानिने नियमित धुमपान गर्ने १५.८ छ । सर्वेक्षणअनुसार २७ प्रतिशत पुरुष र १० प्रतिशत महिलाले नियमित धुमपान गर्छन् । महिलाले १७ र पुरुषले १८ वर्ष उमेरदेखि धुमपान थाल्ने सर्वेक्षणले देखाएको छ ।