हल्लाबाजी र नेतागिरी नगर्दा हुन्न ?

good-n-bad-newsगत साता एक जना टाढाबाठा भनिएका साथीको दिमाग रन्थनिएको देखेँ मैले- ‘युरोपका जति खराब नेपाली संसारमा कतै देखिन ।’

उनको फेसबुके कथनको तल्तिर बेल्जियम, स्पेन, यु. के., क्यानडा, यु. एस. देखि अस्ट्रेलियासम्मका नेपालीहरूको लामै टिप्पणी थियो- ‘हामीकहाँ मात्र खराब भनेको त …’

पछिल्लो समयमा प्रवासी नेपालीहरूका बारेमा सँचार माध्यमहरूमा पनि निरस र उदासी समाचारहरू ज्याद्री आउन थालेका छन् । केही वेबसाइट/ब्लगहरू त लगातार खराब समाचारहरू ‘फोकस’ गरिरहन्छन् । केही हजारमा नेपाली रहेका देशहरूमा समेत लुछाचुँडी र खुट्टा तानातानको समाचारहरू किन निरन्तर बनी रहन्छन् ?

खराब समाचार सरूवा रोग जस्तै हुँदो रहेछ । महामारी झैँ सल्कने र समाजको तस्वीर विकृत देखाइदिने । पश्चिम युरोपमा अपेक्षाकृत नेपालीहरूको घनत्व भएका देशहरू बेल्जियम, स्पेन र यु.के.का बारेमा जरूरतभन्दा ज्यादै खराब समाचारहरू संप्रेषण भएका गुनासा समेत सुनिन्छन् । के यहाँको नेपाली समुदाय खराब भएरै नराम्रा समाचारहरू प्रसारित भइरहेका हुन् त ?

युरोपबाहिरका नेपालीहरू मसँग यस्तै विषयमा जिज्ञासा राख्छन् । युरोपभित्रका ‘नेता’ नेपालीहरू चित्त दुःखाइरहेका भेटिन्छन्- ‘नराम्रा पक्षमात्र किन हाइलाइट गर्ने ?’

हाम्रो मनको आधा भाग कालो हुन्छ रे । त्यही आधा अँध्यारोले तथानाम खुराक खोज्दो रहेछ । अनि संचार माध्यममा पस्कन्छन्- झगडा, विवाद, यौन दुराचार, मारपीट, पोर्नो, लज्जा, गल्ती र गोर्खे राजनीति । नकरात्मक ।

मोफसल, राजधानी, छिमेकी राष्ट्र र समुन्द्रपारिमा रहेर समाचार सम्प्रेषण र सम्पादन गरेको अनुभव यो पंक्तिकारसँग छ । हामी पत्रकारहरू किन खराब समाचारलाई अत्यन्तै महत्व दिन्छौँ भन्ने हेक्का म राख्छु ।

समाचार संप्रेषणको प्रमुख विशेषता भनेको अग्रगण्य र आकृष्ट गर्ने खालको हुनुपर्छ । राम्रा घटनाहरू कमै विष्फोट हुन्छन् । अनि राम्रा घटना पुष्टी हुन स्तरिय र लामो समय जरूरी हुन्छ । नराम्रा घटना झट्ट हुँदा मसला पुगीहाल्छ । फलस्वरूप, नराम्रा समाचारले बारम्बार ठाउँ पाइरहन्छन् ।

खराब समाचारहरूलाई बढवा दिनमा पाठक/दर्शकहरूको रूचि पनि उत्तिकै कारक छ । अपराध, ग्लेमर र सेक्सले धेरैको आँखा खिँच्छ । मिडियाले पाठक कमाउन त्यस्तै रोज्छन् ।

पाठक कमाउन जे पनि छाप्ने/प्रसारण गर्ने मिडिया भनेका नाफा कमाउन जे पनि गर्ने ब्यापारी जस्तै हुन् । त्यसो त पत्रकार पेशै अपजसी हो । तैपनि पत्रकारहरूले अफ्नो कारणले अरूको सादगीमा धब्बा लाग्छ की भनेर चखानो बन्नै पर्छ । कलमबाट लेखिएका शब्दहरू कसैका निम्ति बन्दूकको गोलीजस्तै पीडादायक बन्नसक्छ । त्यसैले ती शब्दवाण चलाउँदा पत्रकारमा जिम्मेवारीबोध हुनैपर्छ । प्रहरीले जथाभावी डण्डा चलाउने, वकिलले जथाभावी मुद्दा ठोक्ने, न्यायाधीशले मनपरी निर्णय सुनाउने, बैँक कर्मचारीले आफ्नैमा मात्र नगद प्रवाह गर्ने हो भने यो सँसार कस्तो होला ?

उसो त पत्रकारहरूले नराम्रा समाचार अतिशय पस्कन्छन् भन्ने गुनासो विश्वब्यापी हो । राष्ट्रिय समाचार र अन्तर्राष्ट्रय समाचारको क्षेत्र पनि विराट हुने भएकोले त्यसको विमर्श भिन्न रूपमा पनि गर्न सकिन्छ । केही सय र हजारको सँख्यामा सात समुद्रपारि बसीरहेका सानो नेपाली समुदायका बारेमा स-साना विषय मै मिडियाबाजी गर्नु चाहिँ ‘सस्तो खबर’ हो । हो यहाँका केही नेपाली अल्पमूल्यको नेतागिरी गरीरहेका छन्, केहीमा समाज सेवाको रहर पनि छ । काम गर्ने जाँगर र रहर भएका तर मेलोमेसो र तारतम्य नमिलेका देखिन्छन् । बढेको विवादलाई खुला बजारमा पस्कने पत्रकारहरूसँग कसरी सरोकार राख्ने र आफ्नो कुरा ब्यक्त गर्ने ढङ्ग नहुँदा कुरा सल्टिने भन्दा उल्टो भइरहेको छ ।

पश्चिम युरोपका नेपालीहरूमा पनि नेपालको प्रतिछायाँ देखिन्छ । राजनीतिदेखि नेपालका सु-सँस्कृति र कु-सँस्कृति सबै दुरूस्त छ, प्रवासको ‘मिनी नेपाल’ मा ।

एक जना पठीतले मसँग भने- ‘पश्चिम युरोप कति विकसित छ ! हामी भौतिक रूपमा यहाँ भए पनि किन सिक्दैनौँ ? सबैलाई अवसर छ । काम गर्नेलाई काम र दाम छ, काम नपाउनेलाई ‘बेरोजगारी भत्ता’ छ, बेरोजगार पनि नमानिनेलाई ‘मानवीय भत्ता’ छ । ‘कम्युनिज्म’ भन्नुस वा  ‘युतोपिया’, त्यसको प्रारम्भिक झल्को यस्तै हो । किन छिनाझम्टिमा लाग्नुपर्यो ? आपसमा भएका असझदारीलाई सल्टाउनतिर लाग्ने की खबरहरूमा पस्केर जग हँसाउने ?’ ती पठीतले मसँग सोधे- ‘हल्लाबाजी र नेतागिरी नगर्दा हुन्न ?’

मसँग उनको प्रश्नको ठेट उत्तर छैन । नराम्रा खबर रोकिँदैन । नेता बन्ने रहर पनि मर्दैन । यो मनोदृष्टिको कुरा पनि हो ।

हालै एक ब्रिटिश अखबार टेलिग्राफमा अग्रज पत्रकार चार्ल्स मुरले पत्रकारहरूको नराम्रा समाचार मोहलाई केलाउँदै पेशागत धर्म भुल्न नहुने आग्रह पत्रकारबन्धुहरूसँग गरेका छन् । पत्रकारहरू नैतिकताले बाँधिएका हुन्छन् । सामाजिक दायित्व भिरेका हुन्छन् । नराम्रा पक्षहरूलाई औँल्याउनुपर्छ तर बिस्कुन सुकाउने होइन ।

– पंचम अधिकारी