सुत्केरीमा गीत गाउन आकी छौ ! ज्वानोको झोल कत्तिको खाकी छौ ?

शीर्षकबाटै थाहा पाउनुभयो- यो लोकदोहोरी गीतको एक अंश हो। तर यो दोहोरी भने रेकर्ड भएर बजारमा आएको छैन, अमेरिकामा सिर्जना भएको र त्यहीं नै गाइएको दोहोरी हो। त्यो पनि कुनै नाम चलेको लोक दोहोरी गायकले गाएको नभई दोहोरीप्रेमीले त्यहींका त्यहीं सोचेर गाएको दोहोरी अंश हो यो।

अमेरिका पुगेर पहिलो सन्तान जन्माई अमेरिकामै दुई महिनाकी काखे छोरी छोडेर सुत्केरी अवस्थामै दोहोरी गाएपछि गायिका तथा मोडल निशा सुनारलाई एक स्थानीय नेपाली दोहोरीप्रेमीले व्यंग्यात्मक प्रश्न गर्ने क्रममा यसरी दोहोरीमा भाका हाले।

अमेरिकाको ज्याक्सन हाइटमा हिजोआज यस्तो दोहोरी सवाल–जवाफ दिनहुँजसो हुन्छ। आसपासका नेपाली समुदायलाई लक्षित गरी अमेरिकाको ७४१५ रुजवेल्ट एभिन्यु ज्याक्सन हाइटमा चौतारी दोहोरी साँझ खुलेपछि त्यहाँ रहेका नेपालीहरूले विदेशमै पनि स्वदेशी मौलिक गीत संगीतलाई सुन्न पाएका छन्।
– विदुर गिरी