साहित्य महासङ्घको केन्द्रीय चुनाव २८ जुनमा

Sahitya GFNLविश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको नयाँ नेतृत्वको लागि आगामी २८ जुनमा निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व निर्माण अघि नै सम्पूर्ण शाखाहरुलाई महाधिवेशन गर्न साथै आजीवन तथा संरक्षक सदस्यता वितरण गर्नुपर्ने छ ।

निर्वाचनमा भाग लिनको लागि निर्वाचनको मिति भन्दा ३ महिना अघि नै सदस्यता लिएको हुनु पर्नेछ । निर्वाचनलाई सहजरुपबाट सम्पन्न गर्न सल्लाहकार तथा पूर्व राजदुत मुरारीराज शर्मा (बेलायत) लाई निर्वाचन आयुक्तमा सर्वसम्मत चयन गरिएको छ । महासङ्घको नियमित बैठकमा रसियाबाट सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ, वेलायतबाट उपाध्यक्ष सुरेसजंग शाह, सल्लाहकार मुरारीराज शर्मा, थाइल्याण्डबाट केन्द्रीय पार्षद खगेन्द्र पन्धाक, मलेशियाबाट पार्षद दीपदर्शन, ब्रुनाईबाट कोषाध्यक्ष सुरेन्द्र इङनाम, महासचिव विश्वासदीप तिगेला, र रसियाबाट अध्यक्ष डा. मधु माधुर्य लगायतको सहभागिता रहेको थियो । केन्द्रीय समितिको बैठक अघि सम्पन्न सचिवालयको बैठकबाट प्राप्त बुंदाहरु उपर ब्यापक छलफल गरि निर्णय गरिएको थियो ।

नेतृत्वको लागि उम्मेदवार बन्न चाहाने साहित्यकारले नेपाली रुपैया ५ हजार देखि २५ हजार सम्म शुल्क बुझाउनु पर्ने समेत निर्णय गरयो । वर्तमान नेतृत्वमा रहेका सदस्यहरु मध्ये कसैले सदस्यता शुल्क अझै तिर्न बाँकी रहेको भए चाडै तिर्नुपर्ने अन्यथा स्वतः खारेज हुने समेत निर्णय गर्यो । साहित्य महासङ्घको हाल विश्वभरका विभिन्न ११ मुलुकमा १३ वटा शाखा साथै ४ वटा साहित्यिक संस्थाहरुको आबद्धता रहेको छ । त्यस्तैगरि विश्वभरबाट २ दर्जन आजीवन तथा संरक्षक सदस्यहरु रहनु भएको छ । सम्पूर्ण नेपाली साहित्यलाई समेट्ने उद्देश्यले सन् २०१० को भानु जयन्तिको दिन यस महासङ्घको औपचारिक स्थापना भएको हो । निर्वाचनको लागि बिस्तृत जानकारी सस्थाको वेवसाइट  www.gfnl.org मा उपलब्ध गराइएको छ ।