सार्कप्रति नेपालको अगाध प्रतिबद्धता, अर्थपूर्ण एकतामा नेपालको जोड

प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवम् अर्थपूर्ण एकता SAARCअपरिहार्य भएको बताउनुभएको छ ।अठारौँ सार्क शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले तीन दशक लामो यात्रा पूरा गर्नै लागेको सार्कलाई प्रगतिको पथमा अग्रसर गराउन एकता र ऐक्यबद्धता आवश्यक भएको बताउनुभयो ।

दक्षिण एसियाका जनतामाझ गरिएका बाचा पूरा गर्नेतर्फ सार्क मुलुक इमानदारीका साथ लाग्नुपर्ने आवश्यकता औँंल्याउँदै प्रधानमन्त्री कोइरालाले गरिबी, भोकमरी, आतङ्कवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थको ओसारपसारको सामना गर्न सार्क मुलुकले सामूहिकरूपमा काम गर्नुपर्छ भन्नुभयो ।

सदस्य देशबीच साँचो अर्थमा गहन एकताको अभिवृद्धि, व्यापार–वाणिज्य क्षेत्रको विकास गर्दै दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) कार्यान्वयन, सार्कका संस्थागत संयन्त्रहरूको सुदृढीकरण, सार्क क्षेत्रमा वस्तु तथा सेवा व्यापारको अवरोधरहित ढुवानी र जनताको आवागमनका लागि साझा प्रतिबद्धताका साथ आवश्यक काम गर्न जरुरी भएको प्रधानमन्त्री कोइरालाले बताउनुभयो ।

दक्षिण एसियाको बहुआयामिक गरिबी घटाउन कृषि, स्वास्थ्य, सरसफाइ, महिला सशक्तीकरणलाई उच्च प्राथमिकतामा राखेर दक्षिण एसियालाई समुन्नत क्षेत्रका रूपमा विकास गर्न स्रोत, साधन, प्रविधि तथा विज्ञान र प्रविधिको क्षेत्रले प्रतिपादन गरेका नवीनतमा साधनको बुद्धिमत्तापूर्वक उपयोग गर्नैपर्नेमा जोड दिनुभयो ।

दक्षिण एसिया जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेको र अस्थिर मौसमका कारण जोखिम अझ थपिएकोतर्फ सार्क मुलुकका शीर्ष नेतृत्वको ध्यानाकर्षण गर्दै क्षेत्रीय एकताको भावनाबाट ती चुनौतीलाई परास्त गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे संक्षिप्त जानकारी दिँदै प्रधानमन्त्री कोइरालाले नेपाललाई शान्ति, प्रजातन्त्र र स्थायित्वको मार्गमा अग्रसर गराउन जनचाहनाअनुसारको संविधान लेखनमा लागेको जानकारी दिनुभयो ।

संविधानसभाबाटै समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्न सरकार क्रियाशील रहेको दोहो¥याउँदै उहाँले राष्ट्रिय मेलमिलाप एवम् राष्ट्रिय एकताको आधारमा संविधान निर्माण गर्न नेपालका राजनीतिक दल लागिपरेको बताउनुभयो । रासस