सरुभक्तलाई बागलुङमा अभिनन्दन गरिने

रत्न श्रेष्ठ पुरस्कार गुठीले साहित्यकार सरुभक्तलाई अभिनन्दन गर्ने भएको छ । सरुभक्तले नेपाली साहित्यमा पु¥याएको sarubhaktaयोगदानको कदरस्वरुप उहाँलाई अभिनन्दन गर्न लागिएको हो । हरेक दुई वर्षमा प्रदान गरिने रत्न श्रेष्ठ राष्ट्रिय सम्मानबाट सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् साहित्यकार सरुभक्तलाई अभिनन्दन गर्ने निर्णय गरेको गुठीका महासचिव महेशचन्द्र प्रधानले बताउनुभयो ।

गुठीले पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाका कृतिमध्ये उत्कृष्ट दुई कृति छनोट गरेर सम्मान तथा पुरस्कारसमेत दिनेभएको छ । यस वर्षको उत्कृष्ट पुरस्कारका लागि गद्य विधामा जिल्लाकै बलेवाका कवि तथा निबन्धकार भूपिन व्याकुल र पद्य विधाका लागि पर्वतका लक्ष्मीकान्त शर्मा ‘लकास’ लाई छनोट गरिएको छ ।

व्याकुलको ‘२४ रिल’ नामक निबन्ध सङ्ग्रह र लकासको ‘सौर्यगाथा’ नामक महाकाव्य छनोट भएको पुरस्कारका संस्थापक प्राज्ञ प्रेम छोटाले जानकारी दिनुभयो ।

मोफसलको साहित्यको श्रीवृद्धिका लागि धौलागिरिका साहित्यकार छोटाले आफ्नी स्वर्गीय आमा रत्नकुमारी श्रेष्ठकोे स्मृतिमा पुरस्कार कोषको स्थापना गर्नुभएको हो । कोषबाट २०३४ साल यता हरेक दुई वर्षको अन्तरमा साहित्यकार सम्मान गरिँदै आइएको छ । पुरस्कारको राशि जनही रु २५÷२५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।

यसअघि रत्न श्रेष्ठ पश्चिमाञ्चल पुरस्कारबाट २७ जना सम्मानित र रत्न श्रेष्ठ राष्ट्रिय सम्मानबाट आठ जना अभिनन्दित भइसकेका छन् भने छ जनालाई कदरपत्र प्रदान गरिसकिएको छ । रासस