सबैको चासो, नेपाल किन गरिब ?

नेपाल किन गरिब छ ?
चिन्तै लागेर यो कुरा थोरैले सोच्लान् । उत्तर आ-आफ्नै आउला पनि । नेपाल गरिब भएको चिन्ता नेपालमा बस्ने, विदेशमा भएकासहित केही छिमेकीलाई मात्र होला । तर सार्वजनिक एक तथ्यांक हेर्दा यति धेरै चिन्ता होला भनेर कमैले अनुमान लगाएको हुनुपर्छ । प्रसंग हो गुगल अटोकम्प्लिटको ।

why nepal poorगुगलले आफ्ना सर्च इन्जिन प्रयोगकर्तालाई सजिलो होस् भनेर अटोकम्प्लिट सुविधा राखेको छ । जसमा प्रयोगकर्ताले खोज्न चाहेको कुराबारे थोरै टाइप गरिसक्दा सम्भावनासहितका अप्सन तलतिर झुल्कन्छन् । यही सर्च इन्जिनमा ‘ह्वाई इज नेपाल’ भनेर टाइप गर्न भ्यायो भने अप्सनमा चाहिँ ‘पुअर’ भनेर आउँछ ।

पश्चिमा मुलुकमा गुगलले कस्ता अप्सन दिन्छ भनेर युनिभर्सिटीका प्रोफेसरहरूले अध्ययन गर्न भ्याएका रहेछन् । त्यो देखेपछि रेडिट नामक सोसियन न्युज साइटका एक हङकङवासी प्रयोगकर्ताले एसियाली मुलुकबारे पनि यस्तो अध्ययन गरेका छन् । जसले गुगलबाट नेपालबारे खोज्न थाल्दा ‘गरिब’ टाँसिएर आउने कुरा देखाएको छ ।

गुगलले दिएकै उक्त अप्सनमा इन्टर हानेपछि शून्य दशमलव ३० सेकेन्डभित्रै ८९ करोडभन्दा बढी पोस्ट भेटिँदा रहेछन् । अटोकम्प्िलटमा आउने अप्सन भने गुगलको आफ्नै सोच होइन । गुगलअनुसार यो प्रयोगकर्ताको खोजी र गुगलले आफूसँग राखेको कन्टेन्टअनुसार तयार हुन्छ । गुगल प्रयोगकर्ताले खोजिरहने विषय यसमा प्राथमिकता पर्ने उसले लेखेको छ ।

यही प्रश्न राखेर गुगललाई सोध्न खोज्यो भने ४ अप्सन प्रश्नसँगै आउँछन् । जसमा दुई राम्रा मान्न सकिने र दुई नकारात्मक प्रश्न छन् । गरिबसँगै, किन नेपाल असफल राष्ट्र मानिन्छ भन्ने अप्सन आउँछ भने राम्रो मान्नका लागि किन नेपाल महत्त्वपूर्ण छ र सांस्कृतिक सम्पदामा धनी छ भनेर पनि सोधिँदो रहेछ ।

अटोकम्प्िलट अप्सन पनि मुलुकअनुसार फरक पर्छन् । जस्तो गुगलको नेपाली संस्करणमा अटोअप्सनको उत्तर केही तलमाथि हुन सक्छ । प्राथमिकतामा तलमाथि परे पनि एकै अप्सन रहने सम्भावना बढी हुन्छ । ‘पुअर’ अप्सनचाहिँ गुगलको अन्तर्राष्ट्रिय संस्करणले प्राथमिकतामा राखेको छ । जसको अर्थ नेपाल बाहिरबाट नेपाल हेर्न खोज्नेले यो मुलुक किन गरिब छ भनेर चासो राख्दा रहेछन् ।

अब छिमेकी मुलुकबारे पनि थाहा पाइराखौं । भारतबारे विश्वको सोचचाहिँ किन ‘यति गरिब’ भनेर रहेछ । नेपाललाई ‘गरिब’ मात्र भनिँदा भारतचाहिँ ‘किन यति गरिब’ को प्रश्नमा परेको छ । अर्को छिमेकी चीनचाहिँ ‘किन यति धेरै प्रदूषित’ भन्ने चासो विश्वलाई भइरहेको रहेछ । सानो छिमेकी भुटानमा ‘किन मान्छे खुसी छन्’ भन्ने चासो विश्वको छ ।

अचम्मले पाकिस्तानलाई चाहिँ ‘किन महत्त्वपूर्ण’ भनेर खोजिँदो रहेछ । श्रीलंका ‘प्रख्यात’ र बंगलादेश ‘यति गरिब’ छ भन्ने थाहा पाउन धेरैले गुगल गरेछन् । गरिब, धनी, खुसी, महत्त्वपूर्ण, सँगै समलिंगीदेखि रंगभेदीसम्मको ट्याग अमेरिकाका सबै राज्यमा पनि गुगलप्रेमीले लगाएका रहेछन् । अब किन नेपाल गरिब भयो भनेर गुगल गर्दा केही मिल्ने उत्तर आए पनि समाधान पक्कै ननिस्केला ।

अनि यो प्रश्न गुगललाई गर्ने कि अरू कसैलाई ? त्यो पनि सोच्ने समय आउला । मुलुकबारे सर्वसाधारणले धेरै राख्ने जिज्ञासा छाडेर अब फर्कौं गुगलको वर्ष सन् २०१३ लाई रिभ्यु गर्न । हरेक वर्षजस्तै योपटक पनि गुगलले आफ्नो वेबसाइटका विभिन्न विधामा पर्न सफल व्यक्ति/क्षेत्रको सूची निकालेको छ । विभिन्न मुलुकको छुट्टै सूची निकालिए पनि त्यसमा नेपाल भने पर्न सकेको छैन ।

जसले नेपालबाट धेरैले के कुराको खोजी गरे भन्न कठिन बनाएको छ । तर विश्वले चाहिँ गएको वर्षमा दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाबारे धेरै खोजी गरेछ । २०१३ को अन्तिम महिना उनको मृत्यु भएर पनि उनी सबैभन्दा धेरै खोजिने भएका हुन सक्छन् । गुगलको ट्रेन्डसँगै व्यक्तिगत विधामा पनि उनी एक नम्बर खोजीका व्यक्ति बनेका छन् ।

बोस्टन म्याराथनमा भएको बम विस्फोट सन् २०१३ मा सबैभन्दा धेरै पटक खोजिएको घटना भएको छ । इलेक्ट्रोनिक्स सामानमा सबैभन्दा धेरैले आइफोन फाइभ एसबारे जिज्ञासा राखेका छन् । धेरै खोजिएको सिनेमा विधामा म्यान अफ स्टिलले एक नम्बर पाएको छ । यो विधाको ७ औं नम्बरमा मात्र बलिउडको सिनेमा चेन्नई एक्सप्रेस पर्न सफल भएको छ । अमेरिकी कलाकार तथा निर्देशक फिलिप सिम्योर हफम्यान भने १ करोडपटक भन्दा बढी गुगलमा खोजिएका व्यक्ति भएका छन् ।
– रोशन अधिकारी/ इकान्तिपुर