सत्ता पक्षबाट विद्यादेवी भण्डारी राष्ट्रपतिको उम्मेदवार, काग्रेसले शनिवार निर्णय लिने

एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी छिन । जननेता मदन भण्डारीको पत्नी  भण्डारी Bidhya Bhandariनेपालको पहिलो महिला राष्ट्रपति बन्ने निश्चित भएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

सत्तारुढ दलहरुको तर्फबाट साझा उम्मेदवार भएकाले उनको विजयी सुनिश्चित रहेको नेताहरुले बताएका छन । सत्तारुढ दलहरुसँग राष्ट्रपति निर्वाचित हुन आवश्यक मत (स्पष्ट बहुमत) रहेको छ ।

शनिवार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रक्रिया अघि बढाईने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार छान्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शनिबार मध्याह्न १२ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने प्रवक्ता दिलेन्द्रप्रसाद बडुले  जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा निर्णय लिइने छ ।

यसअघि प्रधानमन्त्रीमा पार्टी सभापति सुशील कोइराला पराजित भएकाले त्यसबाट पाठ सिक्दै रणनीतिक योजनाका साथ उम्मेदवार चयन गरिने काग्रेसका नेताहरुले बताएका छन । कांग्रेसको तर्फबाट सभापति कोइरालासहित वर्तमान राष्ट्रपति रामवरण यादव, कांग्रेस कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य कुलबहादुर गुरुङ लगायतको नाम चर्चामा छ ।

त्यसै गरी उपराष्ट्रपतिमा भने दोस्रो तहका नेताहरुलाई अघि सारिने बताइएको छ । उपराष्ट्रपतिका लागि पनि कांग्रेसभित्र धेरैले इच्छा देखाएको स्रोतको दावी छ । केन्द्रीय कार्यसमिति बैठक अघि शनिबार बिहान ९ बजे पार्टी पदाधिकारी बैठक बस्ने प्रवक्ता बडुले जानकारी दिए । पदाधिकारी बैठकले कार्यसूची तयार पारेर केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्नेछ ।