वैदेशिक रोजगारी र पीडा समेटिएको उपन्यास

ulkapat novelप्रवासमा नेपालीले भोग्दै आएका विकृति–विसंगतिको सजीव चित्र समेटिएको ‘उल्कापात’ उपन्यास बजारमा आएको छ। उपन्यासकार वसन्त नेपालले वैदेशिक रोजगारीको कथावस्तु समेटेर उक्त उपन्यास बजारमा ल्याएका हुन्। लेखक र टिनाबीच अप्रत्याशित भेट, प्रेम र वियोगमा जेलिएको उल्कापात निक्कै मार्मिक छ। आजकाल बाहिरिरहेको युवापुस्ता र रेमिट्यान्समा रमाइरहेको देशको भयावह चित्रण गर्दै उपन्यासमा लेखकले आफ्ना कथावस्तु बुनेका छन्।

अरब हामफाल्नु भनेको जिन्दगीलाई आधा बाटोमा पुर्याई छोडिदिनु हो भन्ने मूल चरितार्थ यस उपन्यासमा देखिन्छ। प्रवासी जीवन व्यतीत गरिरहेका नेपालले आफूले वैदेशिक रोजगारमा भोग्दै आएको कथावस्तुलाई समेट्दै जीवनका समग्र कथा यस उपन्यासमा जस्ताको तस्तै उतारेका छन्।

कामको सिलसिलामा वैदेशिक रोजगारीमा भोग्दै आएका अधिकांश नेपालीको भावना समेट्ने गरी उनले उपन्यास रचेका हुन्। उनको उपन्यासमा लेखक र टिना प्रमुख पात्र भएर वैदेशिक रोजगारीमा भोग्दै आएका कथावस्तुको सचित्र वर्णन गरिएको छ। उपन्यासले प्रवासमा जीवन बिताइरहेका लाखौं प्रवासीको भावना समेट्न सफल भएको छ। यो उपन्यास पढ्ने जो–कोहीले आफू वैदेशिक रोजगारीमा पुगेको कल्पना गर्न सक्छ। एक दशकदेखि प्रवासी नेपालीका भावना, उतारचढावलाई कलात्मकरूपले शब्दमा लेखाउँदै–खेलाउँदै आएका नेपाल प्रवासका एक सशक्त पत्रकार हुन् वसन्त। सबैको कथाजस्तै उनी टिना र लेखक प्रतिनिधि भएर उपन्यासमा झुल्किएका छन्।

यस उपन्यासमा जीवनको यात्रामा भोग्नुपरेका असह्य पीडालाई समेत प्रकट गरिएको छ। बालुवामा जिन्दगीको डढेलो सल्काउनेहरू अरबभूमिमा बलात्कृत भई समुद्रमा जीवन उत्सर्ग गर्नेहरू र पराई भूमिमा भोगिएका अत्यासलाग्दा विवशता, दुःख र आँसुको दहको साक्षी पोखेका छन् लेखकले। उनको यस उपन्यासलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले प्रकाशन गरेको हो। १ सय ३८ पृष्ठको उक्त पुस्तकको मूल्य ३ सय रुपियाँ राखिएको छ।