वैदेशिक रोजगारीका नाममा मानब बेचबिखन

आफन्तकै कारण रोजगारीका नाममा बेचिएपछि पर्नु पिर परेको छ मकवानपुर चुरियामाईकी २६ वर्षीया उनलाई । उनी आफ्नो नाम खुलाउन चाहँदिनन् । आफ्नो नातामा पर्नेले नै रोजगारीका नाममा कुवेतमा लगेर बेचेपछि धेरै हण्डर खाएर फर्केकी उनी आफूले पाएको पीडा कसैलाई सुनाउन चाहँदिनन् पनि ।

कामका क्रममा मालिकले दिएको शारीरिक यातनाका कारण भएको चोटलाई समेत उनले ‘सवारी दुर्घटनाको चोट’ भन्ने गरेको बताइन् । ‘देखिने चोट सवारी दुर्घटनाको भन्ने गरेकी छु, नदेखिने चोट त यो मनमा कति छ कति,’ उनले भनिन्, ‘उजुरी गरुँ आफ्नै मान्छे ।’

रोजगारी मानवको जीवन धान्ने आधार हो । परिवारको आवश्यकता धान्ने बाटो रोजगारी हो । कुनै पेशा वा व्यवसायबिना मानिसलाई जीविकोपार्जनमा समस्या हुने गर्दछ । कामको खोजीमा भौतारिँदै गाँउबाट शहर, शहरबाट राजधानी र राजधानीबाट वैदेशिक रोजगारीमा जानेको संख्या थुप्रै छ । तर, सोचेजस्तो सहज छैन वैदेशिक रोजगार ।

उनलाई वैदेशिक रोजगारीमा पठाउने व्यक्ति अहिले आफैं पनि रोजगारीका क्रममा मलेसियामा छन् रे ।‘मलाई कुवेत पठाएको दुई महिनापछि ऊ मलेसिया गयो रे,’ उनले भनिन् । कानुनी परिभाषाले एउटा कामका लागि भनेर अर्को काममा लगाउनुलाई वैदेशिक रोजगारभित्र बेचबिखनका रुपमा लिन्छ । तर, यस्ता उजुरी गर्न समस्या भएको उनले बताइन् । उनका अनुसार आफन्त पर्ने र धम्की आउने गर्नाले उजुरीमा समस्या छ ।

साउदीमा २ वर्ष घरेलु काम गरेर फर्कने बेला मालिकद्वारा थुनिएपछि मकवानपुर पदमपोखरीकी ३७ वर्षीया अर्की महिला पनि कष्ट खेपेर नेपाल आइन् । ‘घर फर्कने अनुमति र पैसा माग्दा मालिकले पठाएनन्, काम धेरै गाह्रो थियो, भागेर आउन खोजेको ६ महिना थुन्यो,’ उनले भनिन् ।

मकवानपुरमा रहेको एक गैरसरकारी संस्थाको अथक पहलपछि उनी नेपाल फर्केकी हुन् । गैससका अनुसार उनलाई समाजमा पुनस्र्थापनमा पनि धेरै समस्या भएको थियो । मकवानपुरबाट रोजगारीका सिलसिलामा धेरै युवा विदेशिएका छन् । तर, यसरी वैदेशिक रोजगारमा गएकामध्ये महिलालाई समस्या बढी हुने गरेको छ । महिलाहरु विदेशमा पनि जोखिमपूर्ण अवस्थामा रहन्छन्, कतिपय महिलालाई रोजगारीका नाममा बेचबिखन गर्ने गरिएको यथार्थ हुन् यी । महिलालाई वैदेशिक रोजगारीका क्रममा समस्या परेर फर्केपछि पनि समाजमा सजिलै घुलमिल हुन सक्दैनन् । समस्या नै समस्या र प्रश्नहरुको ताँती लाग्ने गर्दछ ।