वीर अधिकारी जिन्दावाद !

हिजो एकसाथ पढें मैले
धेरै समाचारहरु ।

न्यायका भिखारी नन्दप्रसादले
कालो पोतेर गणतन्त्रलाई
सुकेको डाँठजस्तो भोको र हलुको शरीर
जिम्मा लगाए यमराजलाई !
लोकतन्त्रको सवैभन्दा शक्तिशाली हतियार “अनसन”
जसले, झुकायो सिँगो व्रिटिश सरकारलाई गोर्खासामु
कुनैवेला झुकेथ्यो गान्धीसामु ।

यति बलशाली हतियारको प्रहारले
नैतिकताको ढाड ठनक्कै भाँचिदापनि
वेसरम लँगडो वनेर
मौन वस्यो सिँहदरवार ।

हिजो एकसाथ पढें मैले
अरु धेरै समाचारहरु ।

उपचार नपाएर अकाल जाने सुत्केरीहरु
रक्त क्यान्सर, मृगौलाको उपचारको भीख मागेकाहरु
बाढीपहिरो पीडितका कथाहरु
खाडीका चेलाचेलीका कथाहरु
कति अप्रिय हरफहरु थिए त्यहाँ
पढिरहें र सिस्नुपानी लगाईरहे आफैलाई ।

पढिसकेर सवै समाचारहरु
उभिन्छु लोकतन्त्रको ऐनाअगाडी
देखेर अलि अलि कालो पोतिएको आफनै अनुहार
लज्जाबोधले चिच्याउँछु —
म कुन मध्ययुगीन राज्यमा छु ? !
अझ बढी तर्सिन्छु —
कस्तो होला ?
जव अधिकारीको भोको लाशको चिताबाट उडेको कालो धुवाँले
लोकतन्त्रको आकाशमा कालो विलाप गरिरहँदा ?
आत्तिएर म फेरि चिच्याउँछु—
“त्यागी, वीर र न्यायका उपासक अधिकारी जिन्दावाद !”
“लोकतन्त्रका अदना शकुनीहरु मुर्दावाद !”

लाग्छ, कहिलेकाँही त समाचारहरु प्नि
अति भद्दा लज्जा बनिदिन्छन
धोती खुस्किएको बर्षौ भयो सिंहदरवारको
तर वेसरम खडा छ उसैगरी
बर्षौ देखि ।
— दीपेन्द्र के.सी.
बगलुङ, हाल- लुभेन, बेल्जियम ।