१८ सय विदेशी सैनिक उद्धारमा कहाँ-कहाँ छन् ?

छिमेकी देश भारत, चीन र अमेरिकाका झन्डै अठार सय सैनिक अधिकारीहरू देशका विभिन्न क्षेत्रमा राहत तथा उद्धारमा केन्द्रित देखिएका छन्।

अमेरिकी दूतावासका अनुसार अमेरिकी सेनाका तीन सय २२ जना अधिकारीहरू चीनसँग सीमाना जोडिएको जिल्ला दोलखादेखि रामेछाप र काभ्रेपलाञ्चोकसहित काठमाडौंका विभिन्न भागमा खटिएका छन्। अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डले भने नेपालमा पाँच सय सैनिक अधिकारी रहने विज्ञप्तिमार्फत जनाएको छ।

अमेरिकी जल र हवाईसेना तथा मरिन कर्पसका अधिकारीहरू काठमाडौंको साँखु, दरबारमार्गस्थित फोहरा दरबार, जंगीअड्डा, त्रिभुवन विमानस्थलमा खटिएको दूतावासले जनाएको छ।

Nepal-earthquakeकेही दिनअघि दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी सैनिक अधिकारीहरूले हेलिकोप्टरमार्फत पहाडी जिल्लाका दुर्गम इलाकामा पुगेर भूकम्पपीडितलाई सरकारी समन्वयमा राहत बाँड्ने बताएका थिए।

नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलका अनुसार छिमेकी चीनका नौ सय ४२ सैनिक अधिकारी यतिबेला नेपालमा खटिएका छन्। उनीहरूमध्ये केहीले सिंहदरबारभित्र मेडिकल क्याम्प सञ्चालन गरिरहेका छन् भने अन्य त्रिभुवन विमानस्थल, जंगीअड्डामा रही सेनासँगको समन्वयमा राहत वितरणमा सहभागी छन्। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भने जनमुक्ति सेनाका एक हजार ८८ जना अधिकारीहरू नेपालमा परिचालित भएको जानकारी दिएको छ।

भूकम्प आए लगत्तै चीनले आठ वटा आईएल-७६ विमानमा राहत तथा उद्वार कार्यदलहरू नेपाल पठाएको थियो। ‘सन् १९४९ मा नयाँ चीन स्थापना भएयता यति ठूलो संख्यामा विदेशी भूमिमा मानवीय सहायता कार्यका लागि चिनियाँ जनसेना र सशस्त्र प्रहरी बल खटिएको पहिलोपटक हो’, चिनियाँ जनसेनाका इमर्जेन्सी रेस्पोन्स अफिसका जनरल स्टाफका निर्देशक चेङ वुइवोले बेइजिङमा पत्रकारसँग भने।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएका पाँच सय सशस्त्र प्रहरी बलका अधिकारीको टोली अवरुद्ध अरनिको राजमार्ग खुलाउन खटिएको थियो। तिब्बती र नेपाली प्रहरी सम्मिलित टोलीको प्रयासपछि शुक्रबार बिहान अरनिको राजमार्ग सञ्चालनमा आएको छ।

भारतका पाँच सय ५५ जना सैनिक अधिकारी काठमाडौंको सिनामंगल, ललितपुरको लगनखेल र गोर्खाको बारपाकमा पीडितहरूलाई राहत वितरण तथा घाइतेको उपचारमा संलग्न छन्।

‘भारतबाट आएका १४१५ जना सैनिक अधिकारीमध्ये उद्धार टोलीका आठ सय ६० जना सदस्य घर फर्किसकेका छन् भने पाँच सय ५५ जना नेपालमै छन्’, प्रवक्ता पोख्रेलले भने।

भारतीय एयरफोर्स तथा सेनाका अधिकारी विमानस्थलमा भारतले पठाएका सहायता सामग्रीहरूको सहजीकरणमा नेपाली अधिकारीसँगै खटिएका छन्। भारतीय दूतावासका अनुसार भारत सरकारले विदेशमा आएको प्राकृतिक विपत्तिमा सघाउन पठाएकामध्ये हालसम्मकै सबैभन्दा ठूलो मिसन नेपालमा पठाएको हो।

भारतीय सेनाले चीनसँग सीमा जोडिएको जिल्ला गोर्खाको बारपाकमा सैनिक ‘बेस’ स्थापना गरेको छ भने लगनखेल र सिनामंगलमा फिल्ड अस्पताल सञ्चालन गरिरहेको छ। वैशाख १२ गते गएको महाभूकम्पको केन्द्रबिन्दु बारपाकमा पुग्ने पहिलो विदेशी उद्धार टोली भारतीय सेनाको हो।

उता पाकिस्तानले भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयमा सञ्चालन गरिरहेको फिल्ड अस्पतालमा १३ सैनिक विशेषज्ञ चिकित्सक र ३६ जना सैनिक सहयोगी अधिकारी छन्।

चीन, अमेरिकाका दर्जनौं सैनिक विमान नेपालमा राहत सामग्री छोड्दै तत्काल फर्किंदै गरिरहेका छन्। तीनवटा चिनियाँ हेलिकोप्टरहरूले केही जिल्लामा सहायता सामग्री वितरण गरिरहेको चिनियाँ दूतावासले जनाएको छ।

महाभूकम्पपछिको उद्धार प्रक्रिया सकिएलगत्तै भारत, चीन, पोल्यान्ड, पाकिस्तान, अमेरिकासहितका ३४ देशका उद्धार टोलीहरू स्वदेश फर्कन थालेका छन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू विदेशी सैनिक अधिकारीहरूको उपस्थिति यतिबेला उद्धार तथा राहतका लागि स्वाभाविक देखिएपनि त्यसको रणनीतिक महत्त्व रहेको बताउँछन्।

‘अमेरिकी सैनिक अधिकारीको नेपालमा बाक्लो उपस्थित हाम्रा दुवै छिमेकी चीन र भारतलाई मन पर्दैन’, मन्त्रालयका एक अधिकारीले भने, ‘यसबारेमा हाम्रो नेतृत्वले बेलैमा सोच्नुपर्छ।’

एकातर्फ चिनियाँ सेनाको नेपालमा उपस्थिति भारतीयहरूलाइ मन पर्दैन । अर्कोतर्फ दुबै छिमेकीलाइ अमेरिकाको चर्को चहलपहल मन पर्दैन । त्यसअलवा भारतीय सेनाप्रति नेपाली जनमत चनाखो रहने र यदाकदा शंकाको रूपमा पनि हेर्ने गरिन्छ । यस्तो विषम स्थितिमा उद्धारमा आएका विदेशी सैनिकहरूलाइ अत्यन्त जरूरी काम सकिनेवत्तिकै धन्यवादसहित विदा गर्नु बुद्धिमानी हुनेछ ।