लोलुफेरा पदयात्रा टोली बाग्लुङ पुग्यो

मुस्ताङ्गको लोमान्थाङ्ग देखि लुम्बिनी र पोखराको फेवाताल हुदै राराताल सम्मको क्षेत्रलाई मुलुककै नमुना पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उद्देश्यले शुरु भएको लोलुफेरा पदयात्राको टोली बागलुङ पुगेको छ |लोमान्थाङ्ग देखि लुम्बिनी सम्म र पोखराको फेवाताल देखि डोल्पाको राराताल सम्म लोलुफेरा पर्यटन मार्गको रुपमा बिकास गर्न अवलोकन सहित संभाब्यता अध्ययन, अन्वेषण गर्ने उद्देश्यले पदयात्रा शुरु गरिएको हो|

भदौ १ गतेदेखि शुरु भएको पदयात्रा टोली कास्कीको पुम्दीभुम्दी स्थित शान्ति स्तुपा हुँदै कास्की, स्याङ्गजाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीय स्थल पञ्चासे, पर्वतको होमस्टे सेवा शुरु भएको चित्रे कुस्मा, बागलुङको बलेवा हुँदै भैरवस्थान मन्दिर सम्म पुगेको हो |उक्त क्षेत्रलाई  धार्मिक, सांस्कृतिक, प्राकृतिक रुपमा समेत बिश्वकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने सम्भावना भएकाले उक्त सम्भावना बाहिर ल्याउनका लागि पदयात्रा शुरु गरिएको लोलुफेरा पदयात्राका अभियन्ता कृष्ण केसीले जानकारी दिए |

लोमान्थाङ्ग बिश्वको पुरानो मानव सभ्यता भएको ठाउँ भएकोले त्यसलाई बिकास र प्रर्बद्धन गर्न सकेमा प्राकृतिक सुन्दरता मात्र नभई सभ्यता अध्ययन र अवलोकनका लागि समेत लाखौ पर्यटक आउन सक्ने संभवना रहेको केसीले बताए | ‘लुम्बिनी पुग्ने पर्यटकलाई यस क्षेत्रमा एकिकृत प्याकेज सहित लोमान्थाङ्ग पुर्याउने तथा पोखराको फेवातालमा पुग्ने पर्यटकलाई रारा सम्म पुर्याउ अभियानले एउटा ठोस कार्यक्रम बनाउने छ’ केसीले भने ‘यो क्षेत्रलाई पश्चिम नेपालकै उत्कृष्ट र लोभलाग्दो पर्यटकीय गन्तब्य बनाउन जरुरी छ’ |

पदयात्रा टोलीले पर्वत, बागलुङ्ग, गुल्मी, म्याग्दी, मुस्ताङ्ग , डोल्पा, अर्घाखाँची सम्म पैदलै पुगेर अन्तरक्रिया गर्ने, फोटो र भिडीयो सार्वजनिक गर्ने तथा यस क्षेत्रको संभावना र बिकासको योजना सरकार संग पेश गर्ने टोलीले जनाएको छ | अभियान असोज २४ गते समापन हुने भएको छ |