लुम्बिनी र बुद्ध विषयमा ब्रुसेल्समा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिने

आगामी वर्ष बुद्ध जयन्तीको सन्दर्भमा युरोपेली राजधानी ब्रुस्सेल्समा बुद्धको जन्मस्थल लुम्बिनी उपर भएका विश्वव्यापी दिग्भ्रमलाई निस्तेज पार्ने KAPULBASTUउद्देश्यले अन्तरराष्ट्रियस्तरको सेमिनार गर्न लागिएको छ । उक्त अवसरमा लुम्बिनीको प्रचार गर्न विविध कार्यक्रम गरि ऎतिहासिकरुपमा बुद्ध जयन्ती मनाउने समेत योजना रहेको लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले जानकारी दिएका छन् ।

अभियानको निमन्त्रणालाई स्वीकार गरि सेमिनारमा सहभागी हुन आउने विशिष्ठ व्यक्तिहरु लुम्बिनीको प्रचारको लागि बिहानको समयमा आधा घन्टा लामो “लुम्बिनी पीस म्याराथुन” दौडमा सहभागी हुने कार्यक्रम रहेको छ भने दिउसो युरोपस्थित विभिन्न संघ संस्थाहरुको सहभागितामा विशाल शान्ति र्यालीको आयोजना गर्ने अभियानको लक्ष्य रहेको युरोप सल्लाहकार आचार्यले बताए ।

बुद्ध जयन्ती मनाउने कार्यक्रमपश्चात सोहि दिन अन्तरराष्ट्रिय सेमिनारको उद्घाटन गरिने र सेमिनार दुइ दिनसम्म चल्नेछ । सेमिनारमा विभिन्न देशका विदेशी प्रतिनिधिहरुलाई सहभागी गराएर बुद्धको जन्मस्थल लुम्बिनी-कपिलवस्तु, नेपाल विषयमा केन्द्रित रहेर त्यसको पुरातात्विक उत्खनन र अनुसन्धानमा संलग्न वरिष्ठ पुरातत्वविद्, विभिन्न देशका प्रोफेसर र इतिहासविदहरुबाट कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा नभएर उत्तर भारतमा भनिएका स्विडेनको पाठ्यपुस्तकमा भएका गलत जानकारी सच्याउन लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट सुरु गरेको कुटनीतिक प्रयास केहि महिना अघि मात्र सार्थक बने पछि अभियानले विश्वका धेरै देशहरुमा बुद्धको जन्मस्थल बारेमा गलत जानकारी भएका सामग्री यथावत रहेकोले अन्तरराष्ट्रिय सेमिनारको आयोजना गरि भ्रमपूर्ण सामाग्रीहरुमा सुधार गराउन बृहतरुपमा प्रयास गर्ने भएको हो ।

यसको मूल उद्देश्य बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा नभएर उत्तर भारतमा भएको थियो भनेर गलत जानकारीसहितका फिल्म, श्रव्यदृश्य निर्माण गर्ने निर्माता, गलत व्याख्या गर्ने पुरातात्वविद, गलत उद्घोष गर्ने उच्च पदस्थ राजनीतिज्ञ तथा कुटनीतिज्ञ तथा पाठ्यपुस्तकमा गलत जानकारी लेख्ने विभिन्न देशका विदेशी लेखक तथा प्रकाशकहरुलाई आमन्त्रण गरेर उहाँहरुलाई आफ्ना गल्तीहरु सच्याउन अवसर उपलव्ध गराउने हेतुले गर्न लागिएको उनले जनाए ।

सेमिनार आयोजना गर्ने प्रयोजनका लागि अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ (अस्ट्रेलिया) को मूल संयोजकत्वमा नौ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा डा कृष्ण अर्याल (नर्बे), प्रो. डा.कृष्ण कान्त पन्थी (नर्बे), प्रो. डा. मिरोज शाक्य (अमेरिका), डा. हरी कुमार श्रेष्ठ (नेपाल), डा. मधु कृष्ण श्रेष्ठ (रसिया),दामोदरप्रसाद आचार्य (बेल्जियम), शंकर गौतम (स्विडेन) र निलेश अधिकारी (नेपाल) रहेका छन् । मूल समितिले कार्यक्रम प्रभावकारी बनाउन आवश्यकता अनुसारका उप–समितिहरु गठन गरिने समेत युरोप सल्लाहकार आचार्यले जानकारी दिए ।