रोजगारीका लागी पाच लाख बिदेशीए

रोजगारीको शिलशिलामा ५ लाख भन्दा बढी नेपाली कामदार विदेशिएका छन्|आर्थिक वर्ष २०७०/७१ मा कामको खोजीमा वर्षदिनमा ५ लाख २७ हजार ८ सय १४ जना नेपाली कामदारले मुलुक छोडेका छन | देशभित्र पर्याप्त रोजगार सिर्जना नहुँदा १५४ देशमा बिदेशिएका नेपालीहरु सरकारले रोजगारीका लागि खुला गरेको १ सय ९ मुलुक (भारतबाहेक) र व्यक्तिगत रुपमा अरू ४५ देशमा गएका छन|

वैदेशिक रोजगार विभागले बुधवार नेपाली कामदार विदेशिएको तथ्यांक सार्वजनिक गरेको छ|अघिल्लो आर्थिक वर्षमा संस्थागत रूपमा ४ लाख ५० हजार २७ जना कामदार विदेशिएका थिए, जसमध्ये १५ हजार ३६ जना महिला कामदार थिए|त्यसैगरी व्यक्तिगत रूपमा विदेश जानेमा ७७ हजार ७ सय ८७ जना कामदार छन्| व्यक्तिगत रुपमा जानेमा महिला कामदार १३ हजार ९ सय ४ जना रहेका छन्|एक वर्षमा अवधिमा कुल पुरुष कामदार ४ लाख ९८ हजार ४ सय ४६ जना विदेशिएका छन भने २९ हजार ३ सय ६८ जना महिला कामदार विदेश पुगेको तथ्यांक विभागले सार्वजनिक गरेको छ|अघिल्लो वर्ष दैनिक रूपमा १४ सय ४६ जना कामदार विदेश गएका थिए|

एक वर्षमा १ लाख ७५ हजार ६ सय ९८ जना कामदार बिदामा घर आएर पुनः श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ| देशभित्र राजनीतिक अस्थिरता हुनु र नयाँ उद्योगधन्दा अपेक्षित रूपमा नआउनु मुख्य कारणले युवाहरू पलायन हुनुपरेको वैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ देवकोटाले बताए |

विभागले आर्थिक वर्ष २०७०/७१ मा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको नाम समेत सार्वजनिक गरेको छ| वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७ सय ४४ म्यानपावर कम्पनीबाट ४ लाख ३० हजार ८ सय ९४ जना पुरुष र १४ हजार ८ सय १३ जना महिला कामदार विदेश पुगेका हुन्|

विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी कामदार एसओएस म्यानपावर सर्भिसेजले पठाएको छ|उसले ९ हजार २ सय १४ जना कामदारलाई विदेश पठाएको हो| एसओएसमार्फत गएका कामदारमध्ये १ सय ३६ जना महिला कामदार रहेका छन्| यो कम्पनी निरन्तर सबैभन्दा बढी कामदार पठाउने कम्पनीका रूपमा रहँदै आएको छ|

एक वर्षमा सबैभन्दा थोरै कामदार पठाउनेमा सलाम टेक्निकल सर्भिस प्रालि रहेको छ। सलामले जम्मा तीन जना कामदारलाई विदेश पठाएको छ| त्यसैगरी, एचआईपी ग्लोबल नेपाल, एचिभ, साकुरा म्यानपावर कम्पनीले एक वर्षमा चार जना कामदार विदेश पठाएका छन् |

विभागका अनुसार सयभन्दा कम कामदार पठाउने १ सय ६ वटा म्यानपावर कम्पनी रहेका छन|विभागमा दर्ता भएका म्यानपावर कम्पनीमध्ये ३ सय १८ वटा म्यानपावर कम्पनीले एक जना कामदार पनि पठाएका छैनन| विभागका अनुसार १ हजार ६२ वटा म्यानपावर कम्पनी विभागमा दर्ता भएका छन|