राजमार्गका होटल अनुगमन सुरु, बासी खाना खुवाइएको फेला

वाणिज्य विभागले आजदेखि चितवनको राजमार्ग क्षेत्रका होटलको अनुगमन सुरु गरेको छ ।

बुधवार चितवनको रामनगरदेखि मुग्लिनसम्मका विभिन्न होटल तथा खाद्य स्टोर्सहरुमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत श्रीकान्त पौडेलले जानकारी दिनुभयो । वाणिज्य विभागसँगै चितवन प्रशासनको समेत अनुगमनमा सहभागिता रहेको थियो । होटल र खाद्य स्टोर्स गरी १४ वटामा अनुगमन भएको थियो ।

अनुगमनमा सो क्षेत्रका अधिकांश होटलहरु दर्ता नै नभई सञ्चालन भएको पाइएको पौडेलले बताउनुभयो । कतिपय होटलहरुले अनुगमनमा टोली आएको थाहा पाएपछि भएको खाना बाख्राको खोरमा कार्टुनले छोपेको अवस्थामा फेला पारिएको थियो ।

रात्रि होटल सञ्चालन गर्ने भनिए पनि खोजतलास गर्दा रामनगरको स्वर्गद्वारी तन्दुरी रेस्टुरेन्टले तत्कालै बाख्राको खोरमा भात लुकाएको फेला परेको पौडेलले बताउनुभयो । झुटा बोलेर टोलीलाई टार्न खोजिए पनि सफल नभएपछि पहिलोपटक चेतावनी दिइएको हो । रामनगरमा सबै होटल बासी खाना खुवाउने गरेको पाइएको छ ।

फोहोर पनि रहेको पाइएकाले रामनगरमा चेतावनी दिइएको टोलीले जनाएको छ । यहाँको उक्त तन्दुरी रेष्टुरेन्टसहित होटल माछापुच्छ«े, रक्षा होटललगायत दर्ता पनि नभएको र बासी खाना खुवाउने गरेको पाइएको हो । रामनगर र जुगेडीमा केही राम्रो पाइएपनि होटेलहरु दर्ता भने नभएको अनुगमन टोलीले जनाएको छ ।

यस्तै मुग्लिनमा आजै टोलीले मिति सकिएको ठूलो परिणाममा कोकाकोला र पेप्सी नष्ट गरेको छ । मुग्लिनको त्रिवेणी ट्रेडर्स एन्ड सप्लायर्स र चितवन होटल एन्ड गेष्टहाउसबाट ७२ कार्टुन बोटलर्स नेपालको पेय पदार्थ र ठूला साना गरी १९१ वटा कोक र पेप्सीका बोतलहरुमा प्वाल पारिएको अधिकृत पौडेलले बताउनुभयो ।

केन्द्रबाट वाणिज्य विभागका शाखा अधिकृत राजेन्द्र कार्की र खाद्य अनुसन्धान अधिकृत कर्णबहादुर चन्दसहितको टोली अनुमगनमा आएको थियो ।