सरकारले गैरकूटनीतिक पृष्ठभूमिका प्रत्याशीहरू निरुत्साहित हुने गरी राजदूत नियुक्तिको मापदण्ड बनाउने भएको छ । परराष्ट्र मन्त्रालयले तयार गरेको मापदण्डको प्रारम्भिक मस्यौदामा गैरकूटनीतिक पृष्ठभूमिका प्रत्याशी कम्तिमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने, कूटनीतिसम्बन्धी भरपर्दो ज्ञान भएको र चार वर्ष कार्यअवधि पूरा गर्दा ६५ वर्ष नाघ्न नहुने लगायतका प्रावधान रहेको कान्तिपुर समाचारमा उल्लेख गरिएको छ।
परराष्ट्र सेवाका अधिकारीहरू (करिअर डिप्लोम्याट)लाई प्राथमिकता दिनुपर्ने ‘स्पिरिट’ मा मस्यौदा तयार गरिएको हो । हाल विदेश भ्रमणमा रहेका परराष्ट्रमन्त्री माधव घिमिरे फर्केपछि मस्यौदा टुंगो लगाएर मन्त्रिपरिषद्मा पेस गरिने परराष्ट्र अधिकारीहरूले बताएका छन् ।
मस्यौदा निर्माणमा संलग्न अधिकारीहरूका अनुसार करिअर डिप्लोम्याटका हकमा पनि ‘निर्दिष्ट’ मापदण्ड ल्याइएको छ। परराष्ट्र मन्त्रालयमा हाजिरका हिसाबले वरिष्ठ सह-सचिवले राजदूत नियुक्तिमा प्राथमिकता पाउने प्रावधान समेटिएको छ । विदेशी नियोगमा कार्यरत रहँदारहँदै राजदूत नियुक्त नगर्ने, मन्त्रालयमै बसिरहेकालाई प्राथमिकता दिने मस्यौदामा उल्लेख छ ।
पछिल्लो केही वर्षहरूमा राजनीतिक नियुक्ति पाएका राजदूतहरूले मर्यादित रूपमा काम गर्न नसकेको गुनासो बढेको छ । खासगरि कतार, बेल्जियम र दक्षिण कोरियाका राजदूतहरूका बारेमा प्रश्न उठेको छ ।