यस वर्षको मिस वर्ल्डमा बिकिनी बन्देज

Miss- Worldआगामी सेप्टेम्बर २८ तारिखका दिन इन्डोनेसियामा आयोजना हुन लागेको मिस वल्र्ड २०१३ प्रतियोगितामा कुनै पनि देशका सुन्दरीलाई बिकिनी लगाउन अनुमति नदिइने भएको छ। इन्डोनेसिया संसार कै सबैभन्दा बढी मुस्लिम भएको देश भएका कारण उनीहरूको धर्मलाई नकारात्मक असर पर्न नदिनका लागि आयोजकले सबै देशका सुन्दरीलाई बिकिनी लगाउन प्रतिबन्ध लगाएको एपीएफले जनाएको छ। कट्टरपन्थी मुस्लिमहरूको चर्को विरोधपछि यस्तो निर्णय गरिएको आयोजक संस्थाले बुधबार बताएको थियो।

आयोजक संस्थाकी एक प्रतिनिधि जुलीया मेर्लीले भनेकी छिन्– ‘हामी चाहँदैनौं कि प्रतियोगिताको दौरानमा कसैलाई पनि नराम्रो महसुस नहोस्। त्यही कुरालाई ध्यानमा राखेर हामीले यस्तो निर्णय लिएका हौं।’ विभिन्न देशका १ सय ३७ सुन्दरीको सहभागिता रहने उक्त प्रतियोगितामा यसपटक बिकिनी प्रतियोगितासमेत नहुने भएको छ। यो प्रतियोगितामा पश्चिमा देशहरूको वर्चस्व रहँदै आएको छ। गत वर्ष आफ्नो सांगीतिक यात्राका क्रममा गायिका लेडी गागाको पहिरनप्रति आपत्ति जनाउँदै इन्डोनेसियनहरूले उनको कन्सर्टसमेत रद्द गर्न दबाब सिर्जना गरेका थिए।