म्यागी सिएनएन हिरो, सुर्खेतमा खुशियाली

विगत आठ वर्षदेखि सुर्खेतमा रही अनाथ तथा असहाय बालबालिकाको सेवामा सक्रिय रहेकी म्यागी डोयन यस वर्षको maggiसिएनएन हिरो घोषणा हुँदा सुर्खेतमा खुसियाली छाएको छ ।

म्यागीले वीरेन्द्रनगर–४ भैरवस्थानमा सञ्चालन गरेको कोपिला भ्यालीमा अध्ययनरत विद्यार्थीहरुले यो खुसियालीमा उत्सव मनाइरहेका छन् । मङ्गलबार न्युयोर्कमा आयोजित सभामा म्यागीलाइ विजेता घोषणा गरे लगत्तै भ्यालीमा संरक्षित बालबालिकाहरुले उत्सव मनाउन सुरु गरेका हुन् ।

विद्यार्थीहरुकै आयोजनामा विद्यालयमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने कार्यक्रम भइरहेको छ । विद्यार्थीकै आयोजनामा आजै विजय ¥याली निकाल्ने तयारी भइरहेको छ ।

अमेरिकाबाट भारतको ऋषिकेशमा पहिलो पटक भम्रणमा पुगेकी उनले त्यहाँ एकजना नेपाली भेटिन् । नेपालमा थुप्रै अनाथ असहाय बालबालिका रहेको सुनेपछि भारतबाट सिधा नेपाल आई सुर्खेत पुगेकी उनले त्यहाँ थुप्रै अनाथ बालबालिका भेटेपछि त्यस्ता बालबालिकालाई स्याहार्ने र शिक्षा दिलाउने चाहनाले २०६४ सालमा कोपिला भ्याली नामबाट एउटा आवास सहितको संस्था खोलिन् । सुरुमा २० जना अनाथ तथा असहाय बालबालिकाहरुलाई आवासमा राखी अन्य विद्या अध्ययनका लागि अन्य विद्यालयमा भर्ना गरिन् । आठ वर्षको अवधिमा कोपिला भ्यालीले आफ्नै विद्यालय र कोपिला महिला समाज पनि सञ्चालनमा ल्याएको छ ।

मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम सुर्खेत भएकाले र पहाडी जिल्लाहरु नजिक पर्ने भएकाले सुर्खेतमा संस्था खोलिएको कोपीला भ्याली सुर्खेतले जनाएको छ । कोपिला भ्यालीका सहायक प्राचार्य मीनवहादुर शाहीले २० जना अनाथ बालबालिकालाई राखेर सुरु गरिएको र अहिले ३ सय ६० जना विद्यार्थी पुगेको जानकारी दिए । उनका अनुसार सो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन अध्यापन भइरहेको छ । सुर्खेतमा बसेर बालबालिकाको क्षेत्रमा मात्रै नभएर विपन्न तथा असहाय महिलाको क्षेत्रमा पनि उनले काम गरेकी छिन् । कोपिला महिला समाज नामको संस्था खोली महिलाहरुलाई सिपमूलक तालिम दिई आर्थिक सम्पन्न बनाउने जस्ता कामहरुमा पनि उनी सक्रिय छिन् ।