मोदीका दूत काठमाडौं आउदै

नेपालमा संविधानसभाबाट नयां संविधान अत्यधिक बहुमतले पारित भएको भोलिपल्ट दक्षिणी छिमेकी भारतका  jaishankar_india_foreign_secretaryप्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत विदेशसचिव एस जयशंकर शुक्रवार काठमान्डौ आउने भएका छन् ।विदेशसचिव एस जयशंकरले आफ्नो एक दिने बसाइमा राष्ट्रपति र प्रधानमन्त्रीसहितका प्रमुख दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ।

साथै उनले असन्तुष्ट तराई केन्द्रित दलको नेतृत्वसंग पनि भेटवार्ता गर्ने अधिकारीहरुले बताएका छन्।उनको भ्रमणको उद्देश्यबारे प्रष्ट नभएपनि, संविधान निर्माण प्रक्रियामा असन्तुष्ट पक्षहरुलाई पनि सामेल गर्न सार्वजनिक आह्वान गर्दै आएको छिमेकी मुलुकबाट हुन लागेको पछिल्लो उच्चस्तरको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

असन्तुष्ट पक्ष, त्यसमा पनि खासगरी तराई केन्द्रित दललाई, साथमा नलिई संविधान निर्माण प्रक्रिया अघि बढाएको भन्दै दिल्ली नेपालका प्रमुख दलसंग त्यति खुशी देखिदैंन।जुन कुरा केही दिनअघि भारतीय विदेशमन्त्रालयले जारी गरेको लामो वक्त्व्यमा पनि झल्कन्छ। उक्त वक्त्वयमा संविधान निर्माण प्रक्रियाको स्वागत गरिए पनि असन्तुष्ट पक्षलाई समेत सामेल गरेरमात्रै अघि बढ्न भारतले प्रष्ट सुझाव दिएको थियो।

संविधानसभाका तीन चौथाइभन्दा बढी सभासद्को समर्थनमा नयां संविधान अनुमोदन गरेर उक्त भारतीय सुझावलाई प्रमुख तीन दलले लत्याएको जस्तो दृश्य देखिएको भोलिपल्ट भारतीय विदेशसचिव काठमाण्डू पठाउने निर्णय दिल्लीबाट आएको छ।काठमाण्डूस्थित भारतीय दूतावासका प्रवक्ता अभय कुमारले भने, “विदेशसचिव एस जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा काठमाण्डू आउंदै हुनुहुन्छ।” भारतीय विदेशसचिवको भ्रमणको उद्देश्यबारे प्रष्ट नभए पनि संविधान निर्माण प्रक्रियाबाहिर रहेका तराई केन्द्रित दललाई पनि साथै लिएर अघि बढ्न उनले सुझाव दिने कतिपयले आंकलन गरेका छन्।

प्रमुख दलका शीर्ष नेतासंगै असन्तुष्ट तराई केन्द्रित दलका नेतासंग पनि उनले भेट्ने पुष्टि गर्दै भारतीय दूतावासका प्रवक्ता अभय कुमारले भने, “विदेशसचिवले बहृत रुपमा भेटघाट गर्नुहुनेछ। असन्तुष्ट तराई केन्द्रित दलसंग पनि भेट्नुहुनेछ।” यसका अतिरिक्त राष्ट्रपति रामवरण यादवसंग पनि भेटघाटका लागि भारतीय पक्षले समय मागेको नेपालको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।

बिहीबार नै दिल्ली जानुअघि भारतीय राजदूत रणजीत रायले राष्ट्रपति यादवसंग भेटवार्ता गरेका थिए।उनी दिल्ली पुगेर पछिल्लो अवस्थाबारे जानकारी गराएपछि विशेषदूतका रुपमा विदेशसचिवलाई नेपाल पठाउने निर्णय आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

विशेषदूतका रुपमा भारतीय विदेशसचिव काठमाण्डू उत्रनुको दुई वटा अर्थ हुनेछन्।एउटा, पछिल्लो प्रक्रियाप्रति भारत खुशी छैन भन्ने सन्देश दिनु र दोस्रो, त्यस्तो भारतीय असन्तुष्टिबारे स्वयम प्रधानमन्त्रीकै सन्देश नेपाली पक्षलाई सुनाउनु जसले नेपालका प्रमुख दललाई एक पटक सोच्न बाध्य बनाउन सक्छ।