मृतक परिवारलाई एक लाख रुपैया दिईने

सुनकोसीको पहिरोलगत्तै मध्य र सुदूरपश्चिमी क्षेत्रमा समेत प्राकृतिक प्रकोप बढिरहेको बेला सरकारले २०७१ सालमा बाढी र पहिरोमा परी ज्यान गुमाएका प्रत्येकको परिवारलाई राहतस्वरुप एक–एक लाख रुपैयाँ उपलब्ध गराउने भएकोछ|sun koshi pidit

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बनेको उच्चस्तरीय राहत तथा पुनःस्थापना समितिको बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले बाढीपहिरो तथा डुबानबाट मृत्यु भएका मृतकका प्रतिपरिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो|

बैठकले पीडितहरुलाई भेट्न जाँदा हेलिकोप्टर नचढ्ने निर्णय समेत गरेको छ|हेलिकोप्टरलाई राहत तथा औषधी वितरण तथा पीडितको उद्धारमा प्रयोग गर्ने सहमति भएको छ| यसैगरी उद्धार तथा राहतका लागि प्रकोप प्रभावित जिल्लाका व्यवस्थापिका संसदका सभासदलाई आ–आफ्नो जिल्लामा सम्बन्धित राजनीतिक दलहरूले समन्वयात्मक रूपमा परिचालन गराउने, जोखिममा परेका गरिब, विपन्न परिवारलाई तत्काल राहत पुर्‍याउन विशेष प्रयत्न गर्नेलगायत निर्णय पनि बैठकले गरेको छ|

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलका नेता, व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता तथा स्वतन्त्र सभासद समेतको उपस्थिति थियो|

मनसुनी वर्षाका कारणले विभिन्न क्षेत्रमा भएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको तथ्यांक प्रस्तुति र हालसम्म भएको खोज, उद्धार, राहतसम्बन्धी कार्यहरुको समग्र अवस्थाबारे समीक्षा गरीएको थियो|