मिस नर्स नेपालको दोस्रो संस्करण आगामी पुसमा

नर्सलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन आगामी पुसमा मिस नर्स नेपाल २०७१ हुने भएको छ।प्रतियोगिता नेक्स्ट मोडल्स नेपालको आयोजना हुन लागेको हो।

प्रतियोगितामा देशभरका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा १ सयभन्दा बढी अस्पतालमा कार्यरत नर्स सहभागी हुनेछन्। देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका ४५ उत्कृष्ट प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा गराएर मुख्य उपाधिसहित १२ विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएका छन्।

प्रतियोगिताअन्तर्गत व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चारकला विकासलगायत हुने नेक्स्ट मोडल्स नेपालका सिइओ रबि धमलाले बताए।

प्रतियोगितामा टाइटल उपाधिसहित मिस ब्युटिफुल, बेष्ट स्माइल, मोष्ट डिसिप्लिन, बेष्ट हेयर, बेष्ट स्कीन, बेष्ट पर्सनालिटी, मोष्ट चार्मिङ, मिस फोटोजेनिक, मोष्ट ट्यालेन्ट, बेष्ट ड्रेस, मिस क्याटवाक र मोष्ट पपुलर विधामा सहभागीलाई पुरस्कृत गरिने जनाइएको छ। विजेताले विदेशमा अध्ययनका लागि छात्रवृत्ति पनि पाउँनेछन्। प्रतियोगितामा सहभागी हुन कुनै पनि नर्सिङ कलेजमा कम्तीमा एक वर्षदेखि अध्ययनरत रहेको हुनुपर्ने, आवेदन दिने मितिसम्म २६ वर्ष उमेर ननाघेको हुनुपर्ने र उचाई कम्तीमा ५ फिट हुनुपर्नेछ।