माओवादीविरोधी मोर्चाको नेता- कनकमणि दीक्षित !

 

kanakप्रचण्डदेखि जिल्ला र गाउँस्तरका एमाओवादी नेताहरूको तारो छन्- कनकमणि दीक्षित । प्रचण्ड उनलाई ‘विपक्षी मिडियाका नेता’ ठान्छन् भने माओवादीनिकट मिडिया उनलाई ‘जनताका शत्रु’ भन्छन् । अनि अपराधको दोष लागेका बालकृष्ण ढुंगेलदेखिका अरू एमाओवादी नेताहरूको तर्क हुन्छ- ‘कनकमणिले भनेर मैले सजाय भोग्छु ?’

माओवादी कोणबाट हेर्दा माओवादीविरोधी मोर्चाको प्रमुख नेता हुन- कनकमणि दीक्षित । शुशील कोइराला, झलनाथ खनाल वा कमल थापाभन्दा ज्यादा खतरनाक लाग्छन्- कनकमणि ।

तिनको आरोप छन्- कनकमणि दीक्षित पश्चिमाहरूको इसारामा चल्ने नेपाली नागरिक हुन् । फोर्ट फाउन्डेसनबाट लाखौं डलर ल्याएर संविधानसभाको नाममा कनकले कमाए । रातो बंगला स्कुलबाट लाखौं रुपैयाँ जम्मा गरे । विभिन्न विदेशी गैरसरकारी संस्था ‘आईएनजीओ’ बाट नियमित आर्थिक लाभ लिन्छन् उनी । यति मात्र होइन, कनकको कनेक्सन जताततै विदेशी सँस्थाहरूमा छ । यीमध्ये कतिपय आईएनजीओको सामाजिक खोलमा नेपालका संवेदनशील सूचनाहरू ठूला र शक्ति राष्ट्रका गुप्तचर एजेन्सीलाई दिन्छन् । १ सय ७५ वटा एनजीओ/आईएनजीओबाट कनकले नियमित रूपमा आर्थिक लाभ लिन्छन् रे । कनक गुप्तचर एजेन्सीका व्यक्तिहरूसँग नियमीत सम्पर्कमा रहन्छन् ।

राणाहरूको अकुत सम्पत्ति अपुतालीमा पाएर सम्भ्रान्त बनेका भनिने दीक्षित परिवारका कमलमणिले साल्ट ट्रेडिङ कर्पोरेसनको झन्डै २ करोड रुपैयाँ हिनामिना गरेको आरोप समेत छ । कर्पोरेसनको खातामा जगदम्बा प्रेसका नाममा १ करोड १६ लाख ९७ हजार ८ सय ८६ रुपैयाँ र हिमाल मिडियाका नाममा ७८ लाख ५५ हजार ९ सय २३ रुपैयाँ उधारो बाँकी छ । यो ऋण चुक्ता नगरेको लगायत कर्पोरेसनलाई अन्य कारोवारबाट समेत नोक्सानी पुर्याएको भनी अख्तियारमा छानबिनका लागि उजुरी परे पनि अख्तियारले केही गरेको छैन उनलाई ।

के एमाओवादी ब्लकले भने झैं त्यति ठूलो संपर्क र असीम प्रभाव भएका ब्यक्ति हुन् कनकमणि ?

आरोपको अर्को कोणबाट हेर्दा पुरै माओवादीको बोझिलो शक्ती प्रतिरोध गरिरहेका छन् उनी । विदेशी मुद्रा र प्रभावमा चुर्लुम्म डुबेको देशमा सबै विदेशी शक्तीको प्रतिनिधि भनाइएका कनकमणि निश्चित रूपमा भयंकर शक्ती बोकेका ब्यक्ति हुनुपर्छ । मुलुकको सबैभन्दा ठूलो पार्टी एमाओवादीविरोधी गिरोहको मुख्य नेताको पगरी गुतेका कनकमणिलाई  एमाओवादी आफैले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनालभन्दा ठूलो नेता बनाउँदैछन् ।

– हिमाल शर्मा