मह जोडीलाई अमेरिकामा जनजाति महासंघले ‘सेन्सर’ गरे

अमेरिकाका बिभिन्न शहरमा महजात्रा देखाउदै हिडेका मह जोडीलाई न्यूयोर्कमा आदिवासी जनजाति महासंघका प्रतिनिधिले अवरोध सिर्जना गरेपछि उनीहरुले तयार पारेको कागजमा सही गरेर मात्र महजात्रा देखाउनुपरेको खुलासा भएको छ ।

महजात्रामा संघीयता बिरोधी र जातीय पहिचान विरोधी व्यंग्य कार्यक्रमहरु समावेश भएको भन्दै जनजाति नेताहरुले मध्यरातमा मह जोडीलाई भेटेर उनीहरुले भने बमोजिम प्रहसन देखाउन दबाब दिएको आयोजक समितिका एक सदस्यले बताए ।

maha-jodiसबै नेपाली समुदायले सम्मान गर्ने कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जनजाति महासंघका अमेरिका शाखाका पदाधिकारीले ‘पहिचान विरोधी’ भन्दै झमेलामा पारेको स्रोतले जनाएको छ ।

जनजाति महासंघ अमेरिका शाखाका प्रथम उपाध्यक्ष मणी वाङदेल राई र महासचिव मानवहादुर रानासँग मह जोडीले वार्ता गरेर मध्यरातमा उनीहरुले तयार पारेको कागजमा हरिवंश आचार्यले हस्ताक्षर गरेका थिए ।

अमेरिका जस्तो विश्वको सम्बृद्ध मुलुकमा आफ्नै देशका दाजुभाइले जातीय संकिर्णता देखाएको भन्दै कागज गरेपछि मह जोडीले स्थानीय नेपाली समुदायसँग चित्त दुःखाएका थिए ।

महजोडीले यसअघि अमेरिकाका १४ शहरमा यिनै कार्यक्रम देखाएका थिए ।