मह जोडीलाई राजनीतिमा के चासो ?

MA-HAतेस्रो एनसेल नेपाली साहित्य महोत्सवको आइतवारको श्रृङ्खलामा उपस्थित भएका नेपालका चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अन्तरँग कुरा गर्दै आपसी मुटावका पुराना तिक्ततादेखि राजनीतिमा लाग्ने/नलाग्ने सोचबारे खुलेर कुरा गरे ।

महोत्सवको बिहानी सत्रमा विजयकुमार पाण्डेले गर्नुभएको छलफलमा उहाँहरुले आफूहरु अहिलेसम्म कुनै पनि राजनीतिक सङ्गठनमा नलागेको र राजनीतिसम्बन्धी कुनै पनि प्रकारको ज्ञान पनि नभएकाले राजनीतिमा लाग्ने सम्भावना नभएको स्पष्ट पार्नुभयो ।

अब राजनीतिमा लागेर नीति-निर्माणमा लाग्ने बेला भएन र ? भन्ने प्रश्नमा कलाकार आचार्यले भन्नुभयो– ‘राजनीति सिक्ने उमेर पनि गइसक्यो । यदि २०/२५ वर्ष अगाडि नै राजनीतिबारे केही जानकारी लिन सकेको भए अहिले राजनीति गर्न सकिन्थ्यो । अब त त्यो उमेर पनि गइसक्यो ।’

कार्यक्रम मै उहाँहरुले चर्चित टेलिश्रृङ्खला ‘आमा’ को चरित्रलाई प्रस्तुत गर्दै वर्तमान अवस्थाको चुनावी माहोल र संविधान निर्माणका सन्दर्भमा व्यङ्ग्य समेत गर्नुभयो ।

मह जोडीका नामले कलाकारितामा उहाँहरुले सहकार्य सुरु गरेको नै ३२ वर्ष पुगिसकेको छ । उहाँहरु एकअर्कालाई नङ् र मासुको रुपमा व्याख्या गर्नुहुन्छ । ‘नेवार इष्ट र बाउ दुष्ट कहिल्यै हुँदैन’ भन्ने उखान नेपाली समाजमा निकै प्रख्यात छ तर हाम्रो सम्बन्धमा यो उखानको खासै महत्व रहेन,’ आचार्यले भन्नुभयो । तैपनि पुरानो प्रसङ्ग कोट्याउँदै मह जोडीले स्विकार गरे- ‘फिलिम’ र ‘तँ त बिग्रिएछस् नि बद्री’ नामको ठूलो पर्दाको फिल्म बनाउने समयताका सम्बन्ध चिसीएको थियो । तर छिट्टै गल्ति महशुश गर्दै हरिवंशले उमेरमा आफ्ना दाजु मदनकृष्णसँग माफी मागेर परिस्थितिलाइ सम्हाले ।

एकपटक एउटा टिभी च्यानलले दुईजना एकअर्काको अन्तर्वार्ता लिने भनेर भनेको कुरा सम्झँदै कलाकार श्रेष्ठले भने– ‘हामी एकअर्कालाई एकअर्काको कुरा सबै थाह थियो । त्यसैले के प्रश्न गर्ने भनेर छलफल गर्यौँ ।’

आचार्य आफ्नो सबैभन्दा प्रिय व्यक्ति रहेको बताउँदै श्रेष्ठले ‘अर्बौँ मान्छेहरुमा तिमी एक, मन मिल्ने मान्छे’ बोलको गीत आफूले हरिवंशकै लागि गाएको समेत खुलाउनुभयो । आफ्नो परिवारका सदस्यले समेत दुःख पर्दा आफ्नो अनुपस्थितिमा सबैभन्दा पहिले हरिवंशलाई नै सम्झने गरेको उहाँले बताउनुभयो ।

आफूहरुको सम्बन्ध स्थायी भइसकेको बताउँदै आचार्यले अब ‘पेन्सन’ आउन बाँकी छ भन्नुभयो ।