मस्कोमा नेपाली ‘पुस्तक–प्रदर्शनी’

Russia  Nepali booksरुसको कृष्णसागर तटवर्ती स्वास्थ्य नगरी सोचीमा आगामी वर्षको ७ फेब्रुअरीदेखि आरम्भ शीतकालीन ओलम्पिक खेलको चिराग विश्वमा सर्वप्रथम अन्तरिक्षमा पुर्याइएको र मस्को मै सर्वप्रथम विश्वसुन्दरी प्रतियोगिता विजेता भेनेजुएलाकी युवतीलाई ताज पहिर्याइएको महत्वपूर्ण घटना घटेका दिन म नेपाली पाठकवृन्दलाई अर्कै एउटा घटनाको बारेमा संक्षेपमा बताउन अग्रसर भएको छु ।
मस्कोको एकदमै केन्द्रमा रहेको विश्वप्रसिद्ध रसियाली राजकीय पुस्तकालय (पुरानो नामः लेनिन पुस्तकालय) अन्तर्गत प्राच्य साहित्य केन्द्रको कलात्मक भवनमा नेपाली पुस्तकहरुका साथै नेपालविषयक रुसी पुस्तकहरुको प्रदर्शनी र नेपालका मित्र यात्राप्रेमी रुसी पत्रकार सेर्गेइ बोइकोद्वारा नेपाल यात्रा विषयक व्याख्यान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
निर्धारित समयभन्दा केही पहिले नै म प्राच्य साहित्य केन्द्रको चिटिक्क परेको भवनमा पस्ना साथै उक्त केन्द्रकी उपप्रमुख मारिया हाएत्सेभाले मेरो स्वागत गरिन् र सभाकक्षतिर लिएर गइन् । त्यस प्रदर्शनीमा दर्शक र श्रोताहरुको प्रतीक्षामा व्याख्यानदाता सेर्गेइ भोइको आवश्यक तैयारी कार्यमा जुटेका थिए । उनले केन्द्रमा नेपालाक्षर रञ्जना लिपिमा केन्दरुमाओम अंकित मण्डलको मुन्तिर मण्डल लेखिएको नेपालमा निर्मित गञ्जी लगाइ राखेका थिए । अभिवादनको आदानप्रदानपश्चात् उनले आफ्नी आमासंग पनि मेरो परिचय गराए । हामी नेपालका किताबहरुको प्रदर्शनी कक्षतिर लाग्यौ । त्यहाँ रसियाली राजकीय पुस्तकालयमा रहेका नेपाली र नेवारी भाषाका पुस्तकहरुका साथै अंग्रेजी र रुसी भाषामा पनि नेपाल विषयक पुस्तकहरु सजाएर राखिएका थिए । दुईटा ऐनादार स्टैंण्डमा रुसी तथा नेपाली भाषामा प्रकाशित मेरै कृतिहरु सजाएर राखिएको पाउँदा म निकै दङ्ग परिरहेको थिएँ । सेर्गेइबोइकोले मेरा पुस्तकहरुबाट नेपालबारे धेरै तथ्य थाहा पाइएको जनाउँदै नेपाल यात्रामा जाँदा जहिले पनि अंग्रेजी भाषामा नेपाल विषयक किताबहरु बोकेर फर्कने गरेको बताउँदै केही किताबहरु पनि देखाए । उनले आउँदो वर्ष आमालाई नेपाल देखाउन लैजाने चर्चा गरेपछि हाम्रो कुराकानी त्यसैतिर मोडियो ।
त्यतिञ्जेलसम्ममा नेपालविषयक पुस्तक–प्रदर्शनी हेर्न र व्याख्यान सुन्न आउने निम्तारुहरु पनि छिटपुट गर्दै आउन थालिसकेका थिए । त्यसैले म प्राच्य साहित्य केन्द्रकी उपप्रमुख मारिया हाएत्सेभाको साथमा वाचनालयतिर जाँदै गर्दा पुस्तकालयका अन्य कार्यकर्ताहरुसंग पनि परिचित भएँ ।
पूर्वनिश्चित समयमा सभाकक्षमा फर्कंदा त्यहाँ मानिसहरु खचाखच भरिइ सकेका थिए । केन्द्रकी उपप्रमुख मारिया हाएत्सेभाले व्याख्यानको संचालन गर्दै सर्वप्रथम मेरो परिचय दिंदै मलाई रसियाली राजकीय पुस्तकालयअन्तर्गत प्राच्य साहित्य केन्द्रकी प्रमुख एम.भ.मेलाल्इनाद्वारा हस्ताक्षर गरिएको कृतज्ञता–ज्ञापनपत्र प्रदान गरिन् । त्यस पत्रमा अंशतः लेखिएको छ –
‘तपाईले आफूले लेखेका नेपालविषयक पुस्तकहरु हाम्रो केन्द्रलाई उपहारस्वरुप प्रदान गनुभएको सन्दर्भमा रसियाली राजकीय पुस्तकालयअन्तर्गत प्राच्य साहित्य केन्द्र कृतज्ञता ज्ञापन गर्दछ । तपाईका ग्रन्थहरुले प्राच्य साहित्य केन्द्रको भण्डारमा प्रतिष्ठित स्थान लिनेछन् । रुस र नेपालबीच पारस्परिक समझदारीको गहनता तथा मैत्री सम्बन्धको सुदृढीकरणमा तपाईंसंग भविष्यमा पनि यस्तै सहयोग कायम रहने छ भन्ने आशा व्यक्त गर्दछौं…’।
सन् २००८ मा पहिलोपल्ट नेपाल पुगेका पत्रकार सेर्गेइ बोइकोले पर्दामा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा जनजीवनको झलक दिने दृश्यहरुको प्रदर्शन गर्दै नेपालको भौगोलिक, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधताबारे प्रकाश पार्नुका साथै आर्थिक, सामाजिक, राजनैतिक स्थितिको सन्दर्भमा पनि आफ्नो दृष्टिकोण बताएका थिए । उनले नेपालीहरुको मिलनशारिता, श्रमशीलता, इमान्दारिता, आतिथ्य-सत्कार, बौद्धिक विकासबारे विशेष जोड दिएका थिए ।
– कृष्णप्रकाश श्रेष्ठ