मलेसियामा दैनिक एक नेपालीले ज्यान गुमाउँछन्

मलेसियामा सन् २०१४ मा ३ सय ६१ नेपालले ज्यान गुमाए । औसतमा हिसाब गर्ने हो भने प्रत्येक दिन १ जना नेपालीले ज्यान गुमाउने गरेका छन् । धन कमाउने र परिवारलाई सुखमा राख्ने सपना बोकेर विदेशी भूमीमा आफ्ना हातनङ्ग्रा खियाउने क्रममा आफ्नो ज्यान त गुमाउँछन् नै साथै उनीहरूका परिवार समेत विचल्लीमा पर्ने गरेका छन् ।

रोजगारीका लागि मलेसिया पुगेका नेपालीहरूको विभिन्न कारणले मृत्यु हुने गरेको छ । आत्महत्या, सवारी दुर्घटना, रोग तथा अन्य विभिन्न कारणले नेपालीहरूको ज्यान जाने गरेको छ । मलेसियाका लागि नेपालका राजदुत निरञ्जन मान सिंह बस्नेतले मलेसियाको वातावरण, बिमारी हुँदा उचित उपचार नपाउनु, सवारी साधनको नियम नबुझ्नुले धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् । मलेसियाका कम्पनीहरूले नेपाली, बंगलादेश, भियतनामजस्ता देशका कामदार बिरामीहरूलाई अस्पताल नै नलैजाने गरेको राजदुत बस्नेतको भनाई छ । यसरी उपचारको अभावले ज्यान गुमाउनेहरूको संख्या पनि उल्लेख्य रहेको छ । बस्नेतका अनुसार यस वर्ष उपचारको अभावले ५२ जनाको ज्यान गएको छ ।

Malaysia mapनेपाली दुतावासका अनुसार मलेसियामा रोजगारीका लागी गएर आत्महत्याको गर्नेको संख्या धेरै छ । यस वर्ष ३ सय ६१ नेपालीमध्ये ४६ जनाले आत्महत्या गरेका छन् । राजदूत बस्नेतका अनुसार नेपालीहरूले आत्महत्या गर्नुको मुख्य कारण मलेसियाका रोजगारदाताहरूले दिने गरेको मानसिक तनाव प्रमुख हो । यसका साथै पारिवारिक तनाव, भनेजस्तो काम तथा तलब नहुनु तथा त्यहाँका स्थानीयबासीहरुको अप्रिय व्यवहारका कारण नेपालीहरूले आत्महत्या गर्ने गरेको उनको भनाई छ ।

यस्तै, सुतेको अवस्थामा पनि धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् । पर्याप्त मात्रामा पानी नपिउनु, गुणस्तरहिन रक्सीको प्रयोग गर्नु, खानपानमा ध्यान नदिनु जस्ता कारणले नेपालीले सुतेकै अवस्थामा ज्यान गुमाउने गरेको दुतावासको भनाई छ । मलेसियाका अधिकांश होटेलहरूमा आफैले तयार पारेको गुणस्तरहिन रक्सीको बिक्री वितरण गर्ने गरेको पाइन्छ ।

मलेसियामा सवारी दुर्घटनामा यस वर्षमात्र ३६ जनाले ज्यान गुमाएका छन् । सवारी नियमबारे जानकारी नहुनु नै सवारी दुर्घटनाको मुख्य कारण रहेको दुतावासले जनाएको छ । साथै कम्पनीमा काम गर्दा होस पुर्याउन नसक्दा पनि ११ जना नेपालीको ज्यान गुमेको छ र केही नेपालीको मृत्युको कारणबारे केही खुल्न सकेको छैन् । उनीहरूको मृत्यु रहस्यमय रहेको दुतावासले जनाएको छ ।

यस्तै, मलेसियामा रोजगारीका सिलसिलामा गएका केही नेपालीहरूको बेपत्ता भएका छन् । दुतावासका अनुसार सन् २००१ देखी २०१४ सम्मको अवधीमा करिब १ सय भन्दा बढी नेपाली बेपत्ता छन् ।

नेपालीको मृत्यु हुने यस्ता विभिन्न कारणको न्युनिकरणका लागि दुतावासले आफ्नो तर्फबाट पहल गरिरहेको राजदुत बस्नेतले बताएका छन् । उनका अनुसार नेपालबाट कामका लागि मलेसिया आऊँदा अभिमुखी तालिम लिएर आउँदा कामका लागि सहज हुने र आफूले भनेजस्तो काम गर्न पाइन्छ । उनले धेरै नेपालीले कामका लागि विदेशमा जाँदा तालिम नगरी सर्टिफिकेट मात्र लिएर जाने र त्यहाँ गएर काम गर्न नसक्दा भनेजस्तो तलब सुविधा नपाउनुको साथै ज्यान समेत जोखिममा पर्ने गरेकाले नेपालबाट आउँदा नै कामका लागि पूर्ण रूपमा तयार भएर जाँदा सहज हुने राजदुतले बताए ।

दुतावासले विदेशमा कामका लागि जाने कामदारहरूलाई कडाईका साथ तालिम दिलाएर मात्र पठाउन सरकारलाई अनुरोध गरेको छ । दुतावासले तालिम नदिइकन कुनै पनि नेपालीलाई विदेश नपठाउन आग्रह गर्दै यदी कामदारलाई तालिम बिनानै पठाउन लागेको पाइएमा कडा कारबाही गर्न आग्रह गरिएको जनाएको छ ।

राजदुत बस्नेतकै भनाईलाई जोड दिँदै २००१ देखी मलेसियामा काम गर्दै आएका जीवन देवान गाउँले भन्छन्, ‘सुतेको सुत्यै हुनुलाई पोष्टमार्टम रिपोर्टमा हृदय घात भनिने गरेको छ । के कारणले यसरी नेपालीको ज्यान जाने गरेको छ, यसको खोजी गरिनुपर्ने र सवारी दुर्घटनामा ज्यान जानुको कारण सवारी नियम थाहा नपाउनु र आफ्नै लापरबाही हो ।’

यता सन् २०१५ मा नेपाली कलिंग भिसा रोक्नु पर्ने भन्दै जिफन्ट स्पट ग्रुपले राजदुतावासमार्फत सरकारको ध्यानाकर्णषण गरेको छ । नेपालीहरूको दयनीय अवस्था देखेर आफूहरूले भिसा रोक्नुपर्ने दवाव दिन लागेको ग्रुपका अध्यक्ष वेद कुमार शर्माले बताए । तर, जिफन्टले उठाएको विषयलाई मानेर भिसा रोक्ने हो भने सन् २०१५ मा ३ लाख नेपालीको रोजगारको अवसर गुम्ने छ । कलिंग रोक्नु भन्दा बीच बाटो रोजेर अगाडि बढ्नु राम्रो हुने देखिन्छ ।