मनीषाको फिल्ममा पुनरागमन हुने

Manisha Koiralaमनीषा कोइरालाले शुक्रबार आफ्नो ४३ औं जन्मदिन मनाइन् । ‘आफैले आफैलाई जन्मदिनको उपहार दिँदैछु । म सर्तविहीन प्रेमको माध्यमले जीवनसँग जोड्नेछु’, जन्मदिनका अवसरमा मनीषाले आफ्नो फेसबुक स्ट्याटसमा लेखेकी थिइन् ।
बलिउड नायिका मनीषा कोइराला अब फिल्ममा खेल्नका लागि तयार भएकी बताइएको छ । उनी पाठेघरको क्यान्सरका कारण केही समय फिल्म दुनियाँबाट टाढिएकी थिइन्। तर अब पूर्ण रुपले आफू स्वस्थ भइसकेकाले आगामी नोभेम्बरबाट आफू फिल्मको काममा फर्कन तयार भएको बताएकी छिन् ।

उनका प्रवक्ता सब्रोतले भनेका छन्– ‘उहाँ अहिले आफ्नो स्वास्थ्यलाई ठीक बनाउन योगा गर्नमा व्यस्त हुनुहुन्छ। उहाँका लागि नेपालबाटै विशेष गुरु आउनुभएको छ। उहाँ अहिले शारीरिक रुपमा तन्दुरुस्त भइसक्नुभएको छ। काम थालनी गर्नुअघि मानसिक रुपमा पनि तन्दुरुस्त हुन लागिपर्नुभएको छ। उहाँले आफ्नो काम आगामी नोभेम्बरबाट शुरु गर्नु हुनेछ।’

मनीषाको स्वास्थ्यका बारेमा कुरा गर्दै सुब्रोतले भनेका छन्– ‘उहाँले अहिले काकीलावेन धिरुभाइ अम्बानी अस्पतालमा आफ्नो स्वास्थ्यको जाँच गराइरहनुभएको छ। उहाँको स्वास्थ्य एकदम ठीक छ । उहाँ क्यान्सरमुक्त हुनुहुन्छ।’
क्यान्सर उपचारका क्रममा करिब ६ महिनाको न्युयोर्क बसाइपछि मनीषा मुम्बई फर्केकी थिइन्।