भाषाको पूर्वाग्रह राख्ने फ्लेमिश समुदाय आलोचित

karte_flandersबेल्जियमको फ्लेमिश समुदायको राज्य सरकारले डच भाषालाई च्यापेर अन्य भाषाप्रति पूर्वाग्रह राखेकोमा युरोपेली अदालतले नाजायज ठहर गरेको छ । बेल्जियमको न्यायपालिकाको अनुरोधमा युरोपेली अदालतले सो निर्णय सुनाएको हो । सिङ्गापुरको एक बहुराष्ट्रिय कम्पनीका निम्ति आन्तवर्पेन सहरमा काम गर्ने एक डच नागरिकको अँग्रेजीमा लेखिएको ‘कामको सम्झौता पत्र’ लाई फ्लेमिश समुदायले आधिकारिक नमानेर अस्वीकार गरेपछि उनी अदालतको शरणमा पुगेका थिए ।

फ्लेमिश कानून अनुसार कामको सम्झौता पत्र डच भाषा मै हुनुपर्छ । डच भाषाको संरक्षणका निम्ति यस्तो नीति अपनाइएको सरकारको प्रष्टीकरण छ । तर युरोपेली अदालतले अन्य देशबाट आएको रोजगारीमा समेत फ्लेमिश समुदायले अपनाएको नीतिले कामदारहरूको स्वतन्त्र आवतजावतमा रोक लगाएको र भेदभाव गरिएको देखिँदा त्यस्तो अनुचित हुने निर्णय दिएको छ ।