भट्टराई जग्गेमा,गाउँलेहरु कानेखुसीमा

एक समय माओवादी र धर्मकर्म बिपरीतार्थ शब्दजस्तै थियो। समय बदलिएसँगै माओवादीहरु पनि परिवर्तन भएछन् भन्ने उदाहरण शनिबार baburam pujaएमाओबादीका नेता डा. बाबुराम भट्टराईको पुख्यौली घर गोरखाको खोप्लाङ्गस्थित बेलबासमा देखियो।

बिहान १० बजे आफ्नी पत्नी हिसीला यमीसहित बेलवास पुगेका डा. भट्टराईलाई जग्गेमा पुग्नेबित्तिकै पण्डितहरुले टीका लगाइदिए। ‘फेरि प्रधानमन्त्री हुनुहोस्’ आर्शिबाद दिए, ‘माघ ८ मै संबिधान जारी गर्नुहोस्।’

भट्टराईसँगै यमीले पनि जग्गेमा एक फन्को लगाइन्। ८४ बर्षे बाबु भोजप्रसादसँगै हार मिलाएर भाई शिव, बहिनी पार्वतीको साथमा भट्टराई र यमी बस्नुभयो। भट्टराईको अहिलेको घरभन्दा पाँच गरा तल भब्य जग्गे बनाइएको थियो। (पिता भोजप्रसादको जन्म भएको भग्नावशेस घर) को छेवैमा जग्गे बनाइएको हो। जग्गेको नजिकै तुलसाको मठ पनि थियो।

जग्गेमा बसेलगत्तै भट्टराई र यमीले फूलपाति लिए। फूलपाति लिएपछि ठट्यौली शैलीमा भट्टराईले भने, ‘जसोजसो बाहुन बाजे उसोउसो स्वाहा!’ भूमिगत जीबन व्यतीत गर्दा धर्मकर्मको चर्को बिरोध गर्दै आएका माओवादीका बरिष्ठ नेता भट्टराईलाई जग्गेमा देख्दा गाउँलेहरु कानेखुसी गरिरहेका थिए। सेतो पाटीमा प्रशन्न पोखरेलले लेखेका छन् । भट्टराई  र यमी धेरैबेर जग्गेमा बसेनन्। जग्गेमा १७ जना पण्डितहरुले एकाहासहित चौरासी पूजा धमाधम अघि बढाएका थिए।

पिताको चौरासी पूजा अघि बढाउन सहयोग गर्न भाई शिवलाई आग्रह गर्दै भट्टराई र यमी जग्गेबाट उठे। भट्टराईले आफन्त, इष्टमित्र, गाउँलेहरु सबैसँग हात मिलाएर शिष्टाचार प्रकट गरे। घरब्यबहारको सबै काम दिदी थिरकुमारी पराजुली र बहिनी पार्वती घिमिरेले रेखदेख गरेका थिए। साथमा यमीले सहयोग गरिन्।

जग्गेबाट उठेपछि भट्टराईले पाँच गरामाथिको आफ्नो घरको आँगनमा धेरै बेर बिताए। घरब्यबहार, आफन्तहरुसँग फोटो खिचाउन उनी ब्यस्त थिए। यसैबीचमा भट्टराईका मामा चन्द्रप्रसाद न्यौपाने छोप्राकदेखि हिडेर भट्टराईको घर आए।

मामालाई देखेपछि भट्टराईले भने, ‘ओहो! मामा नमस्कार। काठमाडौंमा आजभोलि टाढैबाट नमस्कार गर्ने गछौं। इबोलाको डर छ।’ चन्द्रप्रसाद न्यौपाने हाँसे। कुरैकुरामा न्यौपानेले भाञ्जालाई जवाफ फर्काए, ‘इबोलाको डर हामीलाई छैन। नेपालको इबोला माओबादी हो।’ गफ सुन्नेहरु गलल हाँसे। चन्द्रप्रसाद नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। मामा–भाञ्जा पहिलो संबिधानसभाको निर्वाचनमा  क्रमश कांग्रेस, एमाओबादीबाट गोरखा क्षेत्र नं. २ मा उठेका थिए। भाञ्जाले मामा न्यौपानेलाई हराइदिए।

न्यौपानेले भाञ्जा भट्टराईलाई भने, ‘सेप (छाँया) मा नबस्नुस् है भाञ्जा।’ पार्टीको प्रमुख तहमा बस्न आग्रह गर्दै न्यौपानेले दोस्रो तहको नेताको भबिष्य नभएको प्रष्टाइदिए। भट्टराईले पारिवारिक भेटघाट, आफन्तजनसँगको भेटघाटपछि गाउँस्तरीय नेता, कार्यकर्तासँग पनि भेटघाट गरे। साथै उनले गाउँमा कखरा सिक्दाका साथीहरु सीताराम देवकोटालगायतसँग पनि भेटघाट र कुराकानी गरे।

‘मेरो नेता सीताराम जी हुनुहुन्थ्यो’ भट्टराईले आँगनको डिलमा बसेर भने, ‘उहाँकै लहैलहैमा लागेर एकदिन स्कूल बङग (पढ्न छाडेको) नै गरियो।’ नजिकै बसिरहनुभएको पल्लाघरे मनकुमारीलाई देखेपछि भट्टराईले सानोमा औषधि हुन्छ भनेर दुईचार थोपा कोदाको रक्सी खाएको समेत स्मरण गरे। ‘अहिले त म रक्सी त खान्न’ भट्टराईले भने, ‘औषधि हुन्छ भनेर सानैमा भाउजूको घरमा गएर कोदाको रक्सी खाएको अझै याद छ।’ भट्टराई पुनः जग्गेतिर झरे। जग्गे पुगेपछि उनलाई पण्डितहरुले खादा लगाइदिए। साथै भट्टराईले हाल भारतमा रहनुभएको छोरी मानुश्रीसँग टेलिफोन सम्पर्क गरेर पिता भोजप्रसादलाई शुभकामनाका शब्दहरु सुनाए।

भट्टराईलाई जग्गेमा देखेपछि सहपाठीसमेत रहेका बेलवासका पण्डित सीताराम देवकोटाले भने, ‘पिताजीको करका कारणले उहाँ जग्गेमा बस्नुभएको होला।’ भूमिगत हुँदैमा भट्टराईको आमाको निधन भएको थियो। त्यसबेला आमाको किरिया नगरेको भट्टराईलाई आरोप छ। जग्गेमा एकाहाका लागि पाठ पढेका मुख्य पण्डित भीमराज कोइरालाकाअनुसार भट्टराई अन्जानमा जग्गेमा बसेका हुन्।। यसले गर्दा भट्टराईको बाबुछोरा दुवैजनालाई पुण्य मिल्छ। नेता भट्टराईले भने आफूलाई धर्मकर्मको बिश्वास नभएको दावी गरेका छन्। पूजापाठमा सरिक भएपछि उनले भने, ‘मलाई धर्मकर्ममा बिश्वास छैन। यस्तो पूजा मैले यसअघि गरेको पनि थिइनँ।’

भट्टराईको निम्तोअनुसार लोक सेवा आयोगकी प्रमुख कयोदेवी यमीलगायतका पाहुनाहरु बेलवास पुगेका थिए।  घरमा चार घण्टा बिताएर भट्टराई, यमी अपरान्ह काठमाडौं फर्केका छन्।

भट्टराईको घरमा शनिबार साँझ लाखबत्ति बाल्ने कार्यक्रम छ। पिता भोजप्रसादको चौरासी कार्यक्रम भने आइतबारसम्म चल्दे पण्डितहरुले जानकारी दिएका छन्। सात दिन लाग्ने सप्ताह एकदिनमै धेरै पण्डितले पाठ पढेर एकाहामा झारिएको हो।