बेल्जियममा ल्होछार

तमु समाज बेल्जियमले तमुहरुको महान पर्व ल्होछारको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ| कार्यक्रम बेल्जियमको अन्तेर्पेनमा डिसेम्बर १५ tamu society belgium(बि.सं २०७१ पौष १५) सम्पन्न हुदैछ| सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न हुन् गैरहेको कार्यक्रमको प्रवेश शुल्क १५ युरो तोकिएकोमा १० बर्ष भन्दा कम उमेरकालाई भने निशुल्क रहेको छ|

तमू ल्होसार

तमू ल्होसार प्रत्येक वर्ष मितिको आधारमा मनाउने सामाजिक पर्व हो| ल्होसारको अर्थ नयाँ वर्ष हो |तमूगुरुङहरुले परम्परादेखि पुस १५ गतेलाई  नयाँ वर्ग (वर्ष)को रुपमा मान्दै आएको प्रचलन छ | तमूगुरुङ जातिको ल्होसार पर्व प्राकृतिक विधि विधानमा विशेष गरी सौर्य मण्डलको गतिसँग सम्बन्धित छ | तमूगुरुङ चि (ज्योतिष शास्त्र) अनुसार वाह्रवटा विभिन्न पशुपंक्षीहरुको नाममा एउटा वर्ग चक्र (ल्होकोर) हुन्छ | प्रत्येक वर्ष एउटा पशु वा पंक्षीले त्यस वर्षको पहिचान निर्धारण गर्छ | त्यस वर्ष जन्मिएका वालवालिकाको वर्ग एउटै हुन्छन् | प्रत्येक १२ वर्षपछि वर्गक्रम दोहोरिन्छ |

तमू चि (ज्योतिषशास्त्र) अनुसार १२ वटा पशुपंक्षिको नाममा बाह्र वर्षको एउटा ल्हो कोर (वर्गचक्र) हुन्छ | यही ल्हो कोर अनुसार प्रत्येक वर्ष पौष पन्ध्रका दिनमा ल्हो (वर्ग) फेरिन्छ | यस वर्ग चक्र अनुसार वर्ग फेरिने दिनलाई ल्होसार नयाँ वर्ग अथवा नयाँ वर्ष भन्दछ | ल्होकोर अर्थात वर्गचक्रमा समावेश रहेका पशुपंक्षिहरू क्रमैसँग त (घोडा), ल्हु (भेंडा), प्र (वाँदर) च्ह्या (चरा), खि (कुकुर), फो (मृग), च्यु (मुसा), ल्वों (गाई), तो (वाघ), ह्वीँ (विरालो),सप्रि (सर्प-नाग), मुप्ह्रि (गरुड-ड्रागन), छन् । तमू चि (ज्योतिषशास्त्र) अनुसार शुभ–अशुभ गणना गर्दा ल्हो (वर्ग) मेवा कु (नौ ज्योतिष अंक) र पार्ग (आठदिशा चक्र) को आधारमा गणना गर्दछन् | प्रत्येक ल्हो (वर्ग) मेवा (अंक) र पार्ग (दिशा) को आ–आफ्नो तत्व हुन्छ | ती तत्वको आधारमा मानिसका लक्षण थाहा पाउन सकिन्छ |

तमू ल्होसारमा नयाँ वर्गले सूर्यको गतिलाई पछ्याउँछ | सूर्य पृथ्वीको दक्षिणी गोलार्धको मकर रेखा पुगेर उत्तरी गोलार्धको कर्कट रेखा तिर फर्किने दिन गुरुङ तमू भाषामा ङि खोर अथवा ङिहमादुँवामा ल्होसार पर्व मानिएको छ | जव सूर्य उत्तरायण हुन्छ त्यस दिनदेखि पृथ्वीको उत्तरी गोलार्धमा सूर्यको किरण सोझिन थाल्छ, अथवा रात छोटो दिन लामो हुँदै जान्छ | आषाढ १५ गते रात छोटो,दिन लामो हुने दिन हो भने पुस १५ रात लामो,दिन छोटा हुने दिन हो |

नेपालका विभिन्न जात जातिहरूका आ–आफ्नै उत्सव र पर्वहरू छन् | तिब्बती समुदायको तोला ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार छन् | तमू जातिले मान्ने पर्व पुष १५ लाई तमू ल्होसार भनिन्छ | यस दिनलाई तमू संस्कृती अनुसार जीवन साथी रोज्ने प्रेम दिवसको रुपमा हेर्ने गरिएको पनि छ | गुरुङहरूमा ल्होसार लेख्ने कि ल्होछार लेख्ने भन्ने सवाल रहेकाले तिब्बति भाषाको ल्होसार शब्द गुरुङ भाषामा तद्भव भएको ल्होसार शब्द नै उचित हुन्छ भन्ने प्रा.डा.जगमान गुरुङको भनाई रहेको छ | तमू ल्होसारको सांस्कृतिक, सामाजिक, प्राकृतिक र आर्थिक विशेषताहरू छन् |

ल्हो परिर्वतन पुष १४ गतेका मध्यराती गुरु पुरोहितहरूले स्वस्ती–शान्ति पूजा गरी शुरु गरिन्छ | पूर्वीय मान्यता अनुसार सूर्य उदयसँगै दिन प्रारम्भ मानिएको हुनाले ल्होसार पनि सूर्य उदयसँगै सुरु हुन्छ भन्ने मान्यता पनि छ | ल्होसार प्रकृतिसँग सम्बन्धित भएको हुनाले यसमा मानव जीवन असल हुनाको लागि प्राकृतिक जगत (पर्यावरण) असल हुनुपर्छ भन्ने सन्देश छ |

ल्होसारको अवसरमा राति १२ बजे पच्यूले छ्योबा त्हें, क्ल्हेबृले थासों त्हें र लामाले छ्यू त्हें गरेर स्वस्ती–शान्ति, सह–साधन र आयु साधन गर्छन | श्रद्धालुहरूलाई गुरुपुरोहितहरूले पुरुषलाई नौसरो ९ गाँठो (ख्येकु) को नाममा र महिलालाई सात सरो ७ गाँठो (माङि)को नाममा प्हंैरु-रुपा-रिपा (बेसार र खरानीमा रंगाएको धागो) गलामा बाँधी “सुख–शान्ति, धन, मान र स्वास्थ्य लाभ होस्” भनी आशिमलाँ (शुभकामना) दिन्छन् | अन्य जनसमुदायले एक आपसमा आशिमलाँ भन्दै शुभकामना आदन प्रदान गर्छन | यो धार्मिक विश्वासको विशेषता हो |

तमूहरूले एक ल्हो कोर (वर्ग चक्र) नपुगेका वाल–वालिकाहरूलाई नावालक मान्दछन् | उनीहरूलाई, सामाजिक, धार्मिक, सांस्कृतिक र कानूनीरुपमा जिम्मेवार मानिदैन |१२ (बाह्र) वर्ष पुगेपछि छोरीलाई ङे विंवः (गुनियो चोली दिने) सामाजिक समारोह गर्दछन् भने छोराको क्रः प्ह्रिवः (क्षेवर) गर्छन्, तर यसमा एकरुपता छैन | तमूहरूले ल्हो (वर्ग) को आधारमा सामाजिक सम्बन्ध मित–मितिनी लगाउछन् | ल्हो (वर्ग) कै आधारमा वैवाहिक सम्बन्ध जोडछन् | परम्परागत रुपमा तमू जातिको वैवाहिक सम्बन्ध ङोलस्यो (मामा–चेली) र ङोलो (फुपूचेला) बिच तय हुन्छ | तर आज–भोलि यो चलन छाड्दै गएको पाइन्छ | ल्होको आधारमा शुभ–अशुभ साईत हेर्ने, लगन जुराउने आर्थिक कारोवार गर्ने, जग्गा–जमिन किन्ने घर बनाउने, वस्तु–भाउ किन्ने, खेतिपाति लगाउने, नयाँ अन्न खाने र कसैलाई केही दिनु र लिनु पर्यो भने ल्हो (वर्ग) को आधार नै दिइन्छ |

ल्होसारको महत्वपूर्ण विशेषता सामुदायिक भावनामा आधारित भएकोले त्यस दिन स्योकैं (सह–भोजन) आयोजना गर्छन् | उहिले गाउँ ठाउँका युवा–युवतिहरूले विभिन्न चाडवाड, उत्सव र अवसरमा मिलेर जम्मा गरेको पैसा तथा एक आपसको सहभागितामा उठाइएका खाद्य सामाग्रीहरू जम्मा गरी गाउँका सबै मानिसहरू एक ठाउँमा जम्मा भई एकै ताउलोमा पकाएको सहभोजन गर्ने सामुदायिक भावनामा आधारित सामाजिक विशेषता हो | यस सह–भोजनमा सये क्ल्हे (भुमिको मालिक), त्होये क्ल्हे (मौलाको मुखिया), म्हिग्रेचोक (भद्र भलादमी), ङ्हिमाये क्ल्हे (ज्योतिष), ह्योंदोये क्ल्हे (गुरुपुरोहित), उमिङह्ीमा (आमा समुह), रिंमै फ्रेंमै (युवा–युवती), हजेँ म्हिजें (ईष्टमित्र) आगुमै-थुमै (साथीभाई) प्ह्रेंमैं (पाहुना)हरू सहभागी हुन्छन् | यस चाडले सामाजिक सौहार्दता, सामुदायिक भावना र सहयोगको भावना बढाउछ | तमू ल्होसारमा मिलीजुली हाँसी–खुसी दुःख–सुख बाँड्छन् | सँगै खान्छन् पिउँछन् र नाच–गान खेलकुद गरी भरपूर मनोरञ्जन लिन्छन् | ल्होसारमा एक आपसमा आशिमलाँ (शुभकामना) आदान–प्रदान गरिन्छ |

ल्होसारका दिन पच्य क्ल्हेबृ लामाहरूबाट स्वस्ती–शान्तिको पूजा गरी कुशल मंगल प्राप्तीको लागि क्रमि (घ्यूदीप) बालेर कुलपितृलाई क्यूफुई (चोखो पानी), च्यू (अक्षेता), भेटी–घाटी पैसा, कैं फुई (चोखो भात) ट्हाफुई (चोखो तिउन), प्हाफुई (चोखो जाँड) र फलफूल चढाई स्युउरी धुप-साल बालेर सिल्दोनाल्दो (सिमेभूमें) देवी–देवताको पूजा गर्छन् | राम्रो लुगा लगाई मीठो खाने कुरा बनाएर आफू र आफन्तहरूलाई खुवाउँछन् | आज–भोलि तमू ल्होसार शहर बजारमा भब्य समारोहसाथ सम्पन्न गरी राजनीतिक नेता, वुद्धिजीवी समाजसेवीहरू समेतलाई निमन्त्रणा गरी राजनीतिक र सामाजिक चेतना जगाउने काम समेत भएको देखिन्छ |

ल्होसार भनेको तमू भाषामा ल्हो (वर्ग) सार फेरिने रहेको हुनाले ल्होसारको सामान्य अर्थ वर्ग फेरिने (ल्होतोव) दिने हो | ल्होसारलाई नयाँवर्षको रुपमा पनि लिन सक्छौं | हिमाली क्षेत्रका जनजाति लगायत तामाङ, शेर्पा र तमूहरुले वर्षलाई वर्गमा नामाकरण गरेको हुनाले नयाँ वर्ष वर्ग फेरिने दिनलाई ल्होसार भनिन्छ | तिब्बती संस्कृति अनुसार तोला ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार छन् | तमूहरुले प्रत्येक वर्षको पौष १५ को दिन तमू ल्होसार पर्व (चाड) मनाउँछन् |
तमूहरुमा ल्होसार लेख्ने कि ल्होछार लेख्ने भन्ने बारे केही मतान्तर गर्न खोजिएको देखिन्छ | तमूहरुले वर्ग फेरिने दिनलाई ल्होतोव, ल्होसार र ल्होछार जे लवाजमा भनिएता पनि यसको भाव अर्थ एक समय सिमाबाट अर्को समय सिमामा जाने प्रकृया हो | ल्होसार पर्वले तमूहरूलाई वर्षभरिमा एक ठाउँमा भावनात्मक रुपमा उभिन समय प्रदान गरेको छ |