बेल्जियमको आमनिर्वाचनमा नेपाली उमेदवारको वास्तविक परिणाम

हिजो सम्पन्न बेल्जियमको संघीय र प्रान्तीय निर्वाचनमा भाग लिएका नेपाली उमेदवारहरूले खासै सफलता प्राप्त गर्न नसकेता पनि स्थानीय राजनीतिमा आफ्नो जग बसाएका छन् ।

वेल्जियमको संसदीय निर्वाचनमा नेपाली मूलका तीन उमेद्वार थिए । त्यसमा एक जना फेडेरल सँसदका लागि मैदानमा थिए भने दुई उमेदवारहरू फ्लेमिश संसदका निम्ति चुनावी दौडमा थिए ।

10260022_10200858055132341_2746841700401751823_nसंघीय संसदको उमेद्वार रहेका फ्लेमिश ग्रोनका (ग्रीन पार्टी) खड्गवहादुर केसीले २७७३ व्यक्तीगत मत प्राप्त गरे । उनले भ्लाम्स ब्राबान्त प्रोभिन्सबाट चुनाव लडेका थिए । उनको पार्टीले चुनावमा राम्रो प्रगति गरेता पनि विजयी हुने संभावनाबाट उनको मत टाढै रह्यो । १५० सदस्यीय संघीय प्रतिनिधि सभामा उनको प्रोभिन्सबाट १५ साँसद निर्वाचित भएकामा उनको पार्टीका एक जना निर्वाचित भएका छन् । ग्रोन पार्टीबाट चुनाव लडेकामा उनको स्थान आठौँ रहेको थियो । उनले पार्टी र स्थानीय राजनीतिमा आभारभूमि खडा गरेका छन् । केसी यसअघि पनि स्थानिय नगरपालिकाको निर्वाचनमा पार्टी उमेद्वार रहेका थिए ।

भ्लाम्स पार्लियामेन्टका लागि सि. डि. एण्ड भे. पार्टीबाट उमेद्वार वनेकी लिला शर्माले २७४१ व्यक्तीगत मत प्राप्त गरिन् । जुन मत सँख्या सम्मानजनक रहे पनि विजयी हुनको लागि थुप्रैलाई उछिन्नु पर्ने नतिजा बन्यो । उनको पार्टीले उठाएका ३३ उमेदवारमा उनको स्थान समग्र मतमा २८ औँ रह्यो भने व्यक्तीगत मत सँख्याको हिसाबले ३१ औँ बन्न पुग्यो । १२४ सदस्यीय भ्लाम्स पार्लियामेन्टमा उनको एन्टवरपेन क्षेत्रबाट ३३ विधायक चुनिनेमा उनको पार्टीका ७ जना निर्वाचित भएका छन् । शर्मा यसअघि पनि स्थानिय नगरपालिका निर्वाचनको लागि पार्टी उमेद्वार रहेकी थिइन् ।

Birman Magarत्यसैगरी भ्लाम्स पार्लियामेन्टका लागि अर्का नेपाली उमेदवार थिए- विरमान घर्ती मगर । उनी भ्लाम्स ब्राबान्त प्रोभिन्सबाट पी.भी.डि.ए. प्लस (फ्लेमिश कम्युनिष्ट) पार्टीबाट चुनाव लडेका थिए । विरमान घर्ती मगरले २१० मत पाए । उनको राजनैतिक दलले वेल्जियममा राष्ट्रीय पार्टीको मान्यता पाउने थ्रेस होल्ड छुन सकेको छैन र सँसदमा कुनै उपस्थिती छैन ।

नेपालमा समाज सेवा गरिरहेकी ‘नेपालकी साथी’ आन मोरेनहाउतले भ्लाम्स ब्राबान्त प्रोभिन्सबाट भ्लाम्स पार्लियामेन्टमा निर्वाचित भएकी छन् । निर्वाचन क्रममा उनले नेपाली समुदायसँग बृहद् अन्तरकृया गरी नेपालमा थप समाज सेवामा लाग्ने प्रण गरेकी थिइन् ।

फेडरल सरकार
बेल्जियमको संघीय संसदमा फ्लेमिश राष्ट्रवादी NVA पार्टीले शानदार विजय हासिल गरी देशको सबैभन्दा ठूलो पार्टीमा अझ मजबुत भएको छ भने फ्लेमिश जातिवादी Vlaams Belang बेस्करी खुम्चिएको छ । त्यस्तै, ग्रोन पार्टीले पनि स्थिति सुधार गरेको छ ।
BDW
उता, फ्रेन्चभाषी पार्टीहरूमा प्रधानमन्त्री एलियो दि रूपोको सोसलिस्ट पार्टीले केही क्षति ब्यहोरेको भए पनि फ्रेन्च पार्टको सबैभन्दा ठूलो दल र मुलुकको दोस्रो ठुलो दल कायम रहेको छ । फ्रेन्चभाषी उदारवादी MR ले प्रगति गरेको छ र मुलुकको तेस्रो ठुलो दल बनेको छ भने फ्रेन्च हरित पार्टी Ecolo ले हरूवाको नियति भोगेको छ ।
१५० सदस्य रहने प्रतिनिधि सभामा NVA ले ३४, फ्रेन्च सोसलिस्ट PS ले २५, फ्रेन्च उदारवादी MR ले १९, फ्लेमिश क्रिश्चियन डेमोक्रेट CD&V ले १८, फ्लेमिश उदारवादी open VLD ले १४, फ्लेमिश सोसलिस्ट S.p.a. ले १२ , फ्रेन्च क्रिश्चियन डेमोक्रेट cdh ले ८, फ्लेमिश हरित पार्टी ग्रोन ६, फ्रेन्च हरित पार्टी Ecolo ले ६ स्थान पाएका छन् ।
चुनावी परिणामलाई विश्लेषण गर्दा केन्द्रीय सरकार निर्माण जटील हुने निश्चितप्रायः छ ।

फ्लेमिश राष्ट्रवादी NVA सबैभन्दा ठुलो दल भए पनि उसँग संयुक्त सरकार बनाउनको लागि सबै फ्रेन्चभाषी दलहरू असहयोगी हुनेछन् । NVA को नेतृत्वमा संयुक्त सरकार बनाउन CD&V बाहेक अन्य दलहरू लालयीत हुने छैनन्, तर NVA लाई बाहिर राखेर पुनः सरकार निर्माण गर्नु जनमतको उपहास हुनेछ ।