बेल्जियन प्र.म. द्वारा मृतक परिवारप्रति शोक व्यक्त

नेदरल्याण्डबाट मलेसियाकोलागी उडेको मलेसियन एयरलाइन्सको बिमान दुर्घटनामा परी ज्यान गुमाउनेहरु  प्रति बेल्जियन प्रधानमन्त्री ईलियो दि रुपोले गहिरो शोक प्रकट गरेका छन।उनले उक्त विमान दुर्घटना सम्वन्धि खबरले आफु त्रसित भएको उल्लेख गर्दै मृतक परिवार प्रति गहिरो समबेदना प्रकट गरेका छन।उनले उक्त घटनाको स्वतन्त्र रुपले छानबिन हुनु पर्ने भन्दै दोषीलाई कानुनी कठघरामा ल्याउनु पर्ने बताएका छन।विहिवार युक्रेनमा भएको उक्त दुर्घटनामा ५ जना बेल्जियन नागरिकको निधन भएको समाचारमा जनाईएको छ ।

अन्तराष्ट्रिय समुदायद्वारा छानबिनको माग

यसैबीच सो दुर्घटनाको छानबीनका लागि एक अन्तर्राष्ट्रियस्तरको छानबीन आयोग गठन गर्न अमेरिकालगायतका विश्वका आधिकांश देशले माग गरेका छन् ।उनीहरुले सो विमान आफै दुर्घटनाग्रस्त भएको नभई क्षेप्यास्त्र हानेर खसालिएको हुनसक्ने अनुमान गर्दै छानबीनको माग गरेका छन ।उनीहरुले यो आक्रमणमा युक्रेनका रुसी  विद्रोहीकै हात हुनसक्ने भन्दै त्यसको छानबीन हुनुपर्ने माग गरेका हुन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सो समाचार अत्यन्तै दुःखद हो भन्दै यसले विश्वमा नै हवाई सुरक्षामा चिन्ता उत्पन्न गरेकोले एक विश्वासिलो र अन्तर्राष्ट्रियस्तरको अनुसन्धान आयोग गठन गरी अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।उनले विमान दुर्घटना भएको स्थानलाई सुरक्षित राख्न तथा त्यसमा कुनैपनि वस्तुहरुलाई कतै नलगी अनुसन्धान आयोगको जिम्मा लगाउन पनि आग्रह गरेका छन् ।उनले दुर्घटनाको छनविनको लागि अमेरिका जस्तो सुकै सहयो गर्न पनि तयार रहेको बताइएका छन्।

डच प्रधानमन्त्री मार्क रुट, युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले पनि सो दुर्घटनाको छानबीनका लागि एक अन्तर्राष्ट्रिय स्तरको छानबीन आयोग गठन गर्नुपर्ने माग गरेका छन्।उता मलेसियाका प्रधानमन्त्री नजिब राजकले विमान दुर्घटना एकदमै दुखदायी भएको भन्दै कुनै पनि हालतमा छानविन हुनुपर्ने बताएका छन् ।

मलेसिया एयरलाइन्सले सो जहाज राम्रो हालतमा रहेको बताएको छ।उक्त विमान सेवाले सो जहाज विगतमा नबिग्रिएको र निकै राम्रो हालतमा रहेको स्पष्ट गरेको छ।सो विमान सेवाले उक्त विमान सन् १९९७ जुलाइमा बनेको र त्यसयता १७ वर्षदेखि उडानमा रहेक जनाएको छ ।विगतमा सो विमानको हालतका बारेमा समय समयमा हेरिइराखिएको र त्यसको रेकर्ड कतैपनि नराम्रो नरहेको भन्दै उक्त जहाजले राम्रो सेवा दिइरहेको बताएको छ।साथै उक्त विमान उडेपछिदेखि नै सबै सञ्चार सेवाले राम्रोसँग काम गरिरहेको पनि सो एयरलाइन्सले जनाएको छ।दुर्घटनामा पर्नुपर्ने कुनैपनि कारण सो विमानमा नदेखिएको र उसको उडान रेकर्डबाट त्यस्तो समस्याको कुनैपनि कुरा कमजोरी नदेखिएको पनि विज्ञप्तिमार्फत सो एयरलाइन्सले जनाएको छ।

युक्रेनले पनि रसियाली समर्थनमा हालैका दिनमा विद्रोह गरिरहेका विद्रोहीले नै सो विमान क्षेप्यास्त्र हानेर खसालेको बताएको छ ।उता रसिया सर्मथक पृथकतावादी समूहले भने युक्रेनको आरोप अस्वीकार गर्दै युक्रेनले नै विमान खसालेको आरोप लगाएका छन् ।युक्रेनको आरोपलाई खण्डन गर्दै पृथकतावादी नेता एलेक्सान्डर बोरादिले युक्रेन सरकारले सो विमान खसालेको आरोप लगाएका छन् ।

सो घटनालाई कतै दुर्घटना भनिएको छ त कतै आक्रमण गरेर खसालिएको भनिएको छ ।यद्यपी हालसम्म दुर्घटनाको कारण बाहिर आएको छैन ।दुर्घटनाबारे विभिन्न समूहबाट फरक फरक भनाइ आइरहेको छ भने यसै दुर्घटनाको विषयमा अधिकारीहरुबीच विवाद समेत सृजना भएको छ ।यस दुर्घटनाले युक्रेनका विद्रोहीमाथिको रसियाको सम्बन्धका बारेमा पनि गम्भीर प्रश्न उठाएको पश्चिमा देशहरुको भनाई छ ।

विमान दुर्घटना भएर करिब ३०० नागरिकको ज्यान गएको छ । सो विमानमा २८३ जना यात्रु तथा बाँकी १५ जना चालक दलका सदस्य एवम् विमानका कर्मचारी रहेका बताइएको छ।यो वर्षभित्र मलेसियन एयरलाईन्सले भोग्नु परेको यो दोस्रो दुर्घटना हो ।सय अघि मलेसियाबाट चीन जाने क्रममा गत मार्चमा वेपत्ता भएको मलेसियन एयरलायन्सको एमएच ३७० विमानको अवस्था हालसम्म अज्ञात छ ।