बेलायतले नेपाली तेक्वान्दो खेलाडीलाई भिषा दिएन

अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपालबाट लण्डन आउन लागेका पाँच खेलाडी र प्रशिक्षकलाई काठमाडौं स्थित बेलायती दूतावासले प्रवेशाज्ञा (भीषा) दिन अस्वीकार गरेको छ। प्रतियोगिता आगामी जुलाई २६ र २७ मा बेलायतको रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्समा आयोजना हुने तय भइसकेको छ।

प्रवेशाज्ञा नपाउने खेलाडीमा रोहित तामाङ, सरिता श्रेष्ठ, निरोजबहादुर, अर्जुन सुनुवार, अमिता राई र प्रशिक्षक अशोक खड्का रहेको नागरिकले समाचारमा उल्लेख गरेको छ ।

दूतावासले खेलाडीका लागि अवश्यक फाइनान्सियल सर्पोट प्रर्याप्त देखाउन नसेकेको भन्दै भिषा दिन अस्वीकार गरेको गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष हीराधन राईले बताए। गैरआवासीय नेपाली संघ युकेले खेलाडीको आवास तथा हवाई जहाज खर्च आफैँले बेहोर्ने व्यहोरामा दूतावासलाई पत्राचार गरेको थियो। गैरआवासीय नेपाली संघ यूकेका अध्यक्षले योगेन क्षेत्रीले बैंक स्टेटमेन्टमा छाप लगाउन छुटेको कारणले भीषा रोकिएको जानकारी दिए। ‘एनआरएन युकेले खेलाडी ल्याउन अन्तिम समयसम्म प्रयास गर्छ’, अध्यक्ष क्षेत्रीले भने, पुन: भिसा निवेदन गर्ने कुरो भइराखेको छ त्यसका लागि आवश्यक कागजपत्र हामी दिन तयार छौं।’ नेपाली खेलाडीको प्रोत्सानका लागि गैरआवासीय नेपाली संघ युकेले तेक्वान्दो खेलाडीलाई सहयोग गर्न लागेको अध्यक्ष क्षेत्रीले बताए।

सगरमाथा तेक्वान्दो डोजाङ, जेन मार्सल आर्टस् एकेडेमी र गैरआवासीय नेपाली संघ बेलायतको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितमा २० देशका ४ सय ५० जना खेलाडी सहभागी हुँदैछन्। सो प्रतियोगिता हेर्न ५ हजार दर्शकले अग्रीम टिकट बुकिङ गरिसकेका छन्।