बुल्गेरियामा पनि एन.आर.एन. सँघको राष्ट्रिय कमिटी गठन

बुल्गारियाको राजधानी सोफियामा गैर आवासीय नेपालीहरुको भेलाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बुल्गारिया गठन गरेको छ । लामो समयदेखि बुल्गारियामा बसोबास गर्दै आएका गैर आवासीय नेपाली गुन्ज बहादुर चोखालको अध्यक्षतामा गठित उक्त परिषदको उपाध्यक्षमा दयाराम चोखाल, महासचिवमा चन्द्र बहादुर कँडेल, सचिबमा तिलक खत्री, कोषाध्यक्षमा टीकाराम कडेल रहेका छन् ।
NRN_logoत्यसैगरी युवा संयोजकमा अमित कुमार मण्डल र प्रबक्तामा शिब कुमार रिजाल चयन भएका छन् । सदस्यहरूमा प्रदिप अर्याल, रूपेश बस्नेत र सुदन सिलवाल रहेका छन् ।
बुल्गरियाका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको प्रयासबाट बुल्गारियामा गैरआवासीय नेपाली संघ स्थापना भएको जनाइएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बुल्गारियाका नवगठित संघका अध्यक्ष चोखालले यस परिषद्को स्थापनाले बुल्गारियामा भएका नेपालीहरू बीच एकता र बिश्वासको लहर फैलिएको बताए । उनले संघ गठनबाट विकासका सम्भावित पक्ष र पूर्वाधारहरूलाई समाधान गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।
नेपाल र बुल्गारिया बीच मैत्री सम्बन्ध कायम भएता पनि कुटनैतिक संस्थाको त्यति गाढा र सहज रूपमा स्थापना नभएको कारणले मस्कोस्थित नेपाली राजदूताबास मार्फत नै सबै काम काज संचालन हुदै आएको छ ।
सन् २००७ सालमा यूरोपियन यूनियनको सदस्यता प्राप्त गरेको बुल्गारियामा अध्ययन, रोजगार तथा ऊज्जल ब्यापारको लागि आउने नेपालीहरूको संख्या दिन प्रतिदिन बढ्दो छ ।