बाग्लुंग बोक्से गैरामा एक महिलाको हत्या

बागलुङ नगरपालिका वडा नम्बर ५ बोक्से गैरा नजिकै घाँटी सेरी हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । घटनास्थल बागलुङ सदरमुकाम देखी झन्डै चार किलोमिटर पश्चिममा रहेको छ ।

सिगाना गाविस वडा नम्बर ७ स्थायी घर भई हाल बिहुँ गाविस वडा नम्बर १ दोबिल्ला व्यापार गरी बस्ने ३६ वर्षीया रुपा गौतम बागलुङ–बुर्तिवाङ सडक अन्तरगतको बोक्सेगैरा भन्दा माथि सडकको बीचमा मृत फेला परेको प्रहरीले जनाएको छ ।राम प्रसाद गौतमकी श्रीमती मृतक रुपाका दुई छोरा र एक छोरी रहेका छन् ।

मृतक गौतम बागलुङ बजारबाट दोविल्ना तिर जाँदै गर्दा यो घटना घटेको स्थानीयले बताएका छन् । सामान्यतया पैदल यात्रुहरु पुरानो बाटो बोक्से खाल्डोबाट आवत जावत गर्छन् । शव फेला परेको सडक भएर पैदल कोहि आवत जावत नगर्ने हुनाले कसैको सवारी साधनमा मृतक गौतम दोविल्ला तिर गएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

मृतक गौतमको घाँटी रेटिएको र शरीरको अन्यभागहरुमा पनि धारिलो हतियार प्रहार गरिएको निशानहरु देखिएकाले उनको लुटपाट या अन्य कुनै कारणबाट हत्या गरिएको हुनसक्ने स्थानीयको अनुमान छ ।

सडकको बीच भागमै मृत अवस्थामा देखेपछि ट्याक्टर चालकले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ प्रेमबहादुर बस्नेत सहितको टोली घटनास्थलमा पुगेर घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रनाउ बस्नेतले हत्याको कारण बारे अनुसन्धान भैरहेको बताएका छन् । सुनियोजितरुपमा हत्या गरिएको हो वा धनमाल लुटपाट या अन्य कुनै कारणबाट हत्या गरिएको हो त्यो अनुसन्धानकै क्रममा रहेकोले अहिले नै केहि भन्न नसकिने प्रनाउ बस्नेतको भनाई छ ।

मृतकको कानमा लगाएको गहना केहि नभएको र मृतकका आफन्तले घाँटीमा लगाएको सिक्री नभएको बताएको पनि प्रनाउ बस्नेत बताए ।