बाग्लुंग-पर्वत जोड्ने यान्त्रिक पुलबाट करोडौ आम्दानी

बाग्लुंगको बलेवा देखि पर्वतको कुश्मा जोड्ने यान्त्रिक पुलबाट यस बर्ष १ करोड २७ लाख ३१ हजार आम्दानी भएको छ|मंगलवार बलेवामा सम्पन बलेवा-कुश्मा यान्त्रिक पुल दोश्रो  साधारणसभामा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले असार मसान्तसम्मको १ करोड २७ लाख ३१ हजार आम्दानी भएको जानकारी गराए|

पुल सञ्चालनका लागि पर्वत र बागलुङ गरी दुवै तर्फका ४ सय ३६ जनाबाट कुल ४ करोड ८९ लाख ६२ हजार ५ सय शेयर रकम संकलन भएको थियो | पुलले टिकट विक्री, घरभाडा तथा विभिन्न स्रोतबाट उक्त रकम आम्दानी गर्न सफल भएको छ | दुई वटा यान्त्रिककार जडान भएको उक्त यान्त्रिक पुलमा एउटा कारमा ८ जना मानिस अट्न सक्ने क्षमता रहेको छ । कम्पनीले प्रत्येक यात्रुका लागि ५ लाख बराबरको बिमा गरेको छ |

केवलकार मोडलमा निर्माण भएको कुश्मा बलेवा यान्त्रिक पुल नियमित रुपमा सञ्चालनमा आएको एक बर्षको अवधीमा १ करोड २६ लाख रुपैया आम्दानी गरेको थियो | यान्त्रिक पुल २०६९ फागुन २१ गते देखि ब्यबसायिक रुपमा सञ्चालनमा आएको हो | प्रथम साधारण सभामा सबै खर्च कटाएर १ करोड १६ लाख बचत भएको यान्त्रिक पुल लिमिटेडले जनाएको थियो |

पहिलो साधारण सभामा बलेवाको प्रशिद्ध भैरबस्थान सम्म केवलकार बिस्तार गर्नका लागि संभाब्यता अध्ययन गर्ने निर्णय समेत गरेको थियो तर त्यो महत्वपूर्ण निर्णयका विषयमा दोश्रो साधारण सभामा कुनै कुरा उठान गरिएन |भैरबस्थान सम्म करिब साढे २ किलोमिटर लामो केबलकार निर्माण गर्न सकिने सम्भावना छ | स्विजरल्याण्डको प्रबिधीमा निर्माण गरिने पुल करिब १२ करोडमा निर्माण हुन सक्ने अनुमान छ |

यसैगरी यान्त्रिक पुलले जोडेको बलेवामा सुबिधा सम्पन्न रिर्सोट निर्माण गर्ने योजना पनि पहिलो साधारणसभाले पारित गरेको थियो | यान्त्रिक पुल लिमिटेड आफैले निर्माण गर्ने वा ठेक्कामा दिन सकिने प्रस्ताब पनि अघि सारिएको थियो |यस क्षेत्रमा ब्यबस्थित पार्क र बनभोजस्थल समेत निर्माण गरिने निर्णय भएको थियो | दोश्रो साधारणसभा सम्म आईपुग्दा यी कुनैपनि निर्णय हुन नसकेको या प्रयास नै नगरिएको स्थानीयवासीको गुनासो रहेको छ |

पुलका अध्यक्षले कहिले बलेवा खण्डमा काठमाडौँ हनुमान ढोका नजिकको जस्तै ‘कालभैरव’को मुर्ति स्थापना गर्ने त कहिले बलेवामा हवाइ सेवा नियमित सन्चालन गर्न यान्त्रिक पुल निर्माण गरेको बताउदै आएका छन् | तर काम भने हुन् सकेको छैन|पर्वत कुश्माबजारको व्यापार प्रवर्धन गर्ने उद्देश्यबाट सन्चालित यस पुलको कुश्मा तिरको खण्ड एकदमै बलियो, राम्रो र आकर्षक डिजाईनमा निर्माण गरिएको भएतापनि बलेवा खण्डको भाग भने कामचलाउ रुपमा निर्माण गरिएको छ | सबैको समान सहभागित रहेकोले बलेवा खण्डको भवन पनि आकर्षक हनपर्ने बलेवा भेगका शेयरहोल्डरहरुको माग रहेको छ |