फिजीका तेस्रो पुस्ता प्रवासी नेपालीमा पहिचानको चिन्ता

अस्ट्रेलियाको छिमेकि देश तथा प्रशान्त महासागरस्थित एक टापु राज्य फीजीमा नेपालीहरूको वसोवास हुन थालेको झन्डै २ सय वर्ष हुन पुग्यो । तर उनीहरुसँग नेपालीत्व झल्किने न त नेपाली भाषा प्रचलनमा छ, न त परम्परा नै । केवल अव नेपाली मन र माया मात्र शेष बचेँको छ। २ सय वर्षअगाडि भारतीय सिमा क्षेत्रबाट बेलायती सरकारले देखाएको प्रलोभनमा फिजी पुगेका नेपालीहरू अहिले पनि म भरि नेपाल सजाएर बसेका छन्।
fiji nepali
भाषा पाठशाला नहुंदा उनीहरुले नेपाली भाषा गुमाए, बेलायती र भारतीय अतिक्रमणले संस्कृती गुमाए तर उनीहरु नेपाली र नेपालप्रति अहिले पनि स्नेही र श्रद्धालु ब्यवहार गर्छन्। उनीहरु भन्छन- युगले हाम्रो परम्परा पखाल्यो, नेपाली भाषा मेटायो तर हामी अझै नेपाली हुनबाट पखालिएका छैनौँ । बेलायती साम्राज्यको अतिक्रमणमा परेका ती नेपालीहरू फीजीको सिङाटोका जिल्लामा रहेका छन् । आफ्नो ३ पुस्ता गुजारेका ती नेपाली गुनासो पोख्छन- हामीलाई नेपालले खोजेन र फीजी सरकारले पनि अझै आफ्नो नागरिक ठानेन ।
हाल फिजीमा करिव १ हजार नेपाली परिवार रहेका छन् । बेलायती शासन रहँदा फीजीमा उखु खेती गर्न करिव ६० हजार भारतिय कामदारलाई विभिन्न प्रलोभन देखाई पानीजहाजमा फिजी लगिएको थियो । सोही क्रममा तत्कालिन समयमा भारतमा कामको खोजिमा पुगेका नेपालीहरू पनि मिसिएर फीजी पुगेका हुन्।

सँसारको नक्सामा फिजी
सँसारको नक्सामा फिजी

मानिसलाई नै शिकार गरेर खाने आदिवासी हरूको टापु भनेर चिनिने फीजीमा चन्द, थापा, तामाङ, पराजुली लगायतका थर भएका नेपालीहरू छन्। दोस्रो पुस्ताबाटै नेपाली भाषालाई फिजीमा प्रचलित हिन्दी भाषाले अतिक्रमण गरेका कारण हाल उनीहरुको मुख्य संचार भाषा अङ्ग्रेजी र हिन्दी मात्र रहेको केशव चन्दको भनाइ छ। नेपाली भाषाका अति सिमित शब्दहरू मात्र सुन्न सकिने उनीहरुको समूहमा नेपाली पर्वहरू भने हराएको छैन । विश्वभरि नेपाली प्रवासीहरूको सँस्था गैर आवसिय नेपाली संघ स्थापना हुँदा हालसम्म फिजीमा भने यसको पहुंच पुग्न सकेको छैन।

फिजीवासी नेपालीहरू अझै नेपाल सरकार र एन आर एन सँघसँग आफूलाई नेपाली पहिचान र नेपालसँगको सम्बन्ध बनोस् भन्ने इच्छा राख्छन् । इतिहासको गर्भमा पहिचान नहराओस- नेपाली फिजीयन याचना गर्छन्। यस सन्वंधमा एन आर एन ओसेनियाका संयोजक विष्णु हमाल आफुहरू छिट्टै फीजी जाने र नेपालीहरूविच सन्जाल विस्तार गरी उनीहरुलाई आफ्नोपन दिलाउने प्रयास भएको र यो कार्य केही महीनामै पूरा गर्ने बताउंछ्न्।

वाध्यताले आफ्नो देशबाट टाढा बनेकाहरू संधैका लागि टाढा नरहुन, यही नै फिजीमा प्रवासिएका नेपालीहरूका सन्तानको पुकार छ।

-भीमसेन सापकोटा, सिङाटोका ,फीजी

(करिब ९ लाख जनसँख्या भएको दक्षिणी प्रशान्त महासागरमा रहेको टापू देश हो- फिजी । फिजीको कूल जनसँख्याको झण्डै ४० प्रतिशत भारतीय मूलका छन् । ब्रिटिश उपनिवेशका बेला ती भारतीय त्यहाँ पुर्याइएका मानिन्छन् । फिजीमा नेपालीहरू रहेका र उनीहरू तिनै भारतीयहरूको जमातमा सालाखाला मिसाइएका छन् । अहिले ती नेपालीहरू आफ्नो पहिचान खोज्दैछन् । सापकोटाको यो खोजमूलक लेख असनेपालन्युज डट कमबाट लिइएको हो ।)